आशफोर्ड ।
किरात याक्थुङ चुम्लुङ आशफोर्ड शाखाको आयोजनामा १४ डिसेम्बर २०२४ का दिन लिम्बू समुदायको महान पर्व चासोक तङनाम (तक्सोक थिसोक) विशेष पुजा शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।
आशफोर्ड शाखाको अध्यक्ष सुन्दर लिङथेपको अध्यक्षता र कियाचु युके केन्द्रिय अध्यक्ष कमला सेन्दाङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा महासचिव विश्वासदीप तिगेला, सदस्य टंक येङदेन, सल्लाहकार पदम आङबुहाङ, पूर्वअध्यक्षहरु श्री साम्यु र डम्बर सिंगक तथा अन्य विशिष्ट अतिथिहरुको उपस्थिति थियो । प्रमुख अतिथिले आफ्नो परम्परा र संस्कृतिलाई जगेर्ना गर्दै विश्वभर रहेका लिम्बू समुदायले एकताका साथ आफ्ना मौलिक पहिचानलाई बचाउनुपर्छ भन्दै संस्कृति संरक्षणमा जोड दिएका थिए ।
कार्यक्रममा सांस्कृतिक विभागले पालाम, हाक्पारे, यालाङ, माङलाङ, येबालाङ र केलाङ जस्ता परम्परागत नृत्यहरु प्रस्तुत गरेर कार्यक्रममा रौनक थपेको थियो । त्यसैगरी, नयाँ आजीवन सदस्यहरुलाई प्रमाणपत्र वितरण गरियो । सिक्कुम फुरुम्बो चरप्पे द्वारा माङसेवा किरात साम्जिक मुन्धुम बाचन गर्दै चासोक सेवा सम्पन्न गरिएको थियो ।
बिगतलाई निरन्तरता दिदै यसवर्ष पनि बिभिन्न व्यक्ति छोरीचेली हरुले सौजन्य स्वरूप् खाने पिउने आ-आफ्नो घरबाट बिभिन्न परिकारहरु ल्याएका थिए ।
यस वर्षको चासोक तङनाम विशेष बनाउने प्रयास स्वरुप गाउँघरमा पाइने परम्परागत मौलिक परिकारहरुका साथै विभिन्न फलफूलमा सिलाम साक्मा कुदेर आकर्षक ढंगले सजाई सांस्कृतिक प्रदर्शनी गरिएको थियो ।