काठमाडौँ – सडक पूर्वाधारअन्तर्गत सुरुङमार्ग कति बनेका छन् ? कति बन्ने अवस्थामा छन् ? यो चासोको विषय हो । तर, सडक विभागसँग यसको यकिन तथ्यांक छैन । के कति बन्दै छन् र बन्ने तयारीमा छन् भन्ने विषयमा आफूहरू जानकार नभएको बताउँछन्, विभागका सूचना अधिकारी अमितकुमार शर्मा । उनका अनुसार दुई आयोजना भने निर्माणाधीन छन् । जसमा दुई ठूला नागढुंगा र सिद्धबाबा सुरुङमार्ग छन् । ‘अरू के कति बन्ने क्रममा छन् ? यसको तथ्यांक हामीसँग छैन,’ उनी भन्छन्, ‘अध्ययन भइरहेकाको पनि तथ्यांक छैन । विभागअन्तर्गत नै रहेको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका इन्जिनियर भने १५ वटा सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिरहेको सुनाउँछन् । केन्द्रले सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्दै आएको छ । केन्द्रबाट अहिले १५ वटा अध्ययनका क्रममा छन्,’ इन्जिनियर अधिकारी भन्छन्, ‘विशेषगरी हामीले अध्ययन मात्रै गर्छौं । ती अध्ययन भइरहेका सुरुङमार्गमध्ये केहीको अध्ययन सकिएको छ । केही जारी छ ।’
सकियो १२ सुरुङमार्गको सम्भाव्यता अध्ययन:
इन्जिनियर अधिकारीका अनुसार केन्द्रमार्फत अध्ययन भइरहेकामध्ये १२ वटाको सम्भाव्यता अध्ययन सम्पन्न भएका छन् । विस्तृत अध्ययन भने हुनै बाँकी छ । यस्ता योजनामध्ये एक सुनसरीको धरान–लेउती सुरुङमार्ग छ । यसको लम्बाइ ३.८७ किलोमिटर रहनेछ । अर्को कैलाली र डोटीमा पर्ने खुटिया–बीपी नगर–दिपायल सुरुङमार्ग छ । यसको लम्बाइ ७.०१ किलोमिटर रहनेछ । यसैगरी गोदावरीकुण्ड–काभ्रे मनेदोभान सुरुङमार्ग ललितपुर, काभ्रेपलाञ्चोकमा सम्भाव्यता अध्ययन सकिएको छ । यसको लम्बाइ ३.६५ किलोमिटर रहनेछ । सम्भाव्यता अध्ययन सकिएको अर्को बागलुङको व्युं–नरेठाटी (७.४४ किलोमिटर) सुरुङमार्ग छ । यस्तै पाल्पाको प्रबास–जोर्ते सडक सुरुङमार्ग (४ किलोमिटर) पनि छ । मकवानपुरको कुलेखानी–भीमफेदी (३.१५६ किलोमिटर), खुर्कोट–सिन्धुली (४.९० किलोमिटर), ताथली–रविओपी (४.५८ किलोमिटर), बबई–छिन्चु (५ किलोमिटर), सुनमाई–राजदुवाली (१२.३० किलोमिटर) र माझिम्तार–शक्तिखोर (१०.६० किलोमिटर) सुरुङमार्गका पनि सम्भाव्यता अध्ययन भइसकेको छ । रारा राजमार्गको कुशे पाटनअन्तर्गत जाजरकोट ब्याउली ढुंगा र जुम्लाको इमिलचा खोला सुरुङमार्ग (१०.०७ किलोमिटर)को पनि सम्भाव्यता अध्ययन सकी डीपीआर तयार गर्ने कार्य भइरहेको छ ।साभार : रापा












