उपत्यकामा उत्पादित सागमा अत्यधिक विषादी, जोगिन के गर्ने ?…..

काठमाडौँ –     पछिल्लो समय सागजन्य तरकारीमा समेत विषादीको प्रयोग अत्यधिक हुन थालेको छ । काठमाडौँ, भक्तपुर र ललितपुर क्षेत्रमा उत्पादित सागजन्य तरकारीमा विषादीको प्रयोग बढी भेटिएको छ । कालीमाटी तरकारी बजार विकास समितिले दैनिकरुपमा परीक्षण गर्ने रिपोर्टमा रायो, भाजी, जिरी, मार्फा, पाकुचा लगायत सागमा विषादी भेटिएको हो । केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ कालीमाटीले बुधबार (पुस २४ गते) १४ वटा नमुना परीक्षण गर्दा ४ वटा सागजन्य तरकारीको नमुनामा विषादी भेटाएको छ । भक्तपुर क्षेत्रमा उत्पादन गरिएका जिरी र पाकुजा सागमा क्रमशः ८८.८४० प्रतिशत र ५४.८६४ प्रतिशत अर्गानोफस्फेट नामक विषादी पाइएको छ । यस्तै, काठमाडौँ क्षेत्रमा उत्पादन भएका मार्फा सागमा ८३.६६३ प्रतिशत र भाजी तथा रायोको सागमा ९९.२३३ प्रतिशत अर्गानोफस्फेट विषादी पाइएको छ । समितिले पुस २३ गते ती सागहरूमा कार्बामेट र अर्गानोफस्फेटको मात्रा धेरै भेटिएको जनाएको छ । उक्त सागमा ५५.६१९६ प्रतिशत कार्बामेट र ७५.५५१ प्रतिशत अर्गानोफस्फेट नामक विषादीको मात्रा भेटिएको थियो । यसअघि पुस २२ गते पनि भक्तपुरबाट कालीमाटी तरकारी बजार पुगेको रायोको सागमा ९९.३८०९ प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको थियो । बजारमा कार्बामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम भए उपभोगयोग्य ३५ देखि ४५ प्रतिशतसम्म भए केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी भए खान अयोग्य मानिन्छ । तरकारीमा देखिएको विषादीबारे छलफल भइरहेको समितिले दाबी गरेको छ । किसान र प्रयोगशालासँग समन्वय गरी उत्पादकलाई सचेत गराउने समितिका कार्यकारी निर्देशक डा. महादेवप्रसाद पौडेलले बताए । ‘हामीले केन्द्रीय प्रयोगशालासँग समन्वय गरेका छौँ,’ उनले भने, ‘स्थानीयस्तरमा रहेका कृषि ज्ञान केन्द्रसँग समन्वय गरेर किसानलाई सचेत गराउँछौँ ।’

पाँच वर्षमा विषादी आयात ४६ प्रतिशतले वृद्धि:

महालेखा परीक्षक कार्यालयको ६१ औँ वार्षिक प्रतिवेदन, २०८१ ले नेपालमा पाँच वर्षमा विषादी आयात र पञ्जीकरण बढेको देखाएको छ । पछिल्लो पाँच वर्षमा विषादी पञ्जीकरणको संख्या ८६.८३ र आयातको परिमाण ४६.३ प्रतिशतले बढेको छ । यसरी विषादी आयात र पञ्जीकरणमा वृद्धि हुनु भनेको विषादीको प्रयोग बढ्नु नै हो । आर्थिक वर्ष २०७५/७६ मा ८ लाख ९ हजार ९३ केजी विषादीको आयातबाट ९५ करोड ६१ लाख ४९ हजार रुपैयाँ बाहिरिएको थियो । २०७६/७७ मा ६ लाख ८१ हजार ६२७ केजीको विषादी आयात भयो । जसमा ७९ करोड ३८ लाख ३ हजार रुपैयाँ खर्च भएको छ । यस्तै, आर्थिक वर्ष २०७७/७८ मा ७ लाख ८३ हजार ३४३ केजी विषादी आयात हुँदा १ अर्ब ६ करोड १८ लाख २३ हजार रुपैयाँ बाहिरिएको सरकारी तथ्याङ्क छ । आव २०७८/७९ मा ११ लाख ३५ हजार ५०४ केजी विषादी मुलुक भित्रिएको छ । जसको लागि १ अर्ब ६२ करोड ३८ लाख ९५ हजार रुपैयाँ खर्च भएको छ । त्यस्तै आव २०७९/८० मा ११ लाख ८३ हजार ७ सय ४१ केजी विषादी भित्रिँदा १ अर्ब ६९ करोड ६३ लाख ६१ हजार रुपैयाँ देशबाट बाहिरिएको छ । पछिल्लो केही वर्षको यो प्रवृत्तिले एकातिर विषादीका नाममा ठूलो रकम बाहिर गएको देखिन्छ भने अर्कोतिर जनस्वास्थ्यमा पनि प्रतिकूल प्रभाव पारेको छ ।

स्वास्थ्यमा गम्भीर समस्या:

विषादी प्रयोग गर्दा बालीनालीका कीरा तथा रोग निर्मूल भएर बालीनाली सप्रिन्छ । तर यसको प्रयोगले मानव स्वास्थ्य र जीवनमा भने व्यापक हानि पुर्‍याइरहेको छ । जानकारहरूका अनुसार बालीनालीमा हालिने विषादी खानेकुरा, श्वासप्रश्वास, छाला लगायत विभिन्न माध्यमबाट मानिसको शरीरमा पुग्छ । यसको तत्कालै ठुलो असर नदेखिए पनि कालान्तरमा गम्भीर समस्या निम्त्याउने चिकित्सकहरू बताउँछन् । क्यान्सर रोगका कारण प्रत्येक दिन ४० जना नेपालीको मृत्यु हुने गरेको छ । यसमध्ये दैनिक १२ देखि १४ जनालाई खानपानकै कारण क्यान्सर हुने विज्ञहरू बताउँछन् । यसमा कृषि उत्पादनमा विषादीको प्रयोगको कारणले हुने क्यान्सर उत्तिकै रहेको चिकित्सकले बताएका छन् ।  साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार