काठमाडौँ – सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ माघ ११ गते ‘ब्रेक थ्रु’ गरिने भएको छ । उक्त सुरुङमार्गको प्रधानमन्त्री केपी शर्मा ओलीले पूजाआजा गरी ‘ब्रेक थ्रु’ गर्ने आयोजनाका कृष्णराज अधिकारीले बताए । अब दुई मिटर खन्न बाँकी छ । ब्रेक थ्रु गर्नका लागि राखिएको छ । यसअघि माघको पहिलो सातालाई ब्रेक थ्रु गर्ने कार्यक्रम राखिएको थियो,’ अधिकारीले भने, ‘तर प्रधानमन्त्री ओलीको कार्य व्यस्तताका कारण माघ ११ मा ब्रेक थ्रु गर्न लागिएको छ । अधिकारीकाअनुसार सोही दिन प्रधानमन्त्री ओलीले बुटवलको गोरुसिङ्गे–चन्द्रौटा सडकखण्डको शिलान्यास गर्ने कार्यक्रमसमेत छ । सो सडक ६ लेनमा विस्तार हुन लागेको छ । सिद्धबाबा सुरुङमार्ग पाल्पा जिल्लाको सिद्धार्थ राजमार्गको तिनाउ ३ दोभान क्षेत्रमा निर्माण गरिएको छ । यो आयोजनाअन्तर्गत २ लेनको मुख्य सुरुङमार्ग १ हजार ८९ मिटर लम्बाइको निर्माण गरिएको छ । यसको मुख्य सुरुङमार्गको चौडाइ साढे १० मिटर र उचाइ करिब ७ मिटर छ । लाइनिङसहित यो सुरुङमार्गको कुल लम्बाइ १ हजार १२६ मिटर छ । आयोजनाले उत्तर र दक्षिणतर्फबाट खन्दै सुरुङको बिचमा २ मिटरजतिको दुरी बाँकी राखेको छ । उत्तरतर्फबाट ४८० मिटर र दक्षिणतर्फबाट ६०७ मिटर गरी १०८७ मिटर सुरुङ खनिसकेको छ । सुरुङको उत्तर र दक्षिण भाग जोड्न २ मिटरमात्रै बाँकी छ । यही बाँकी २ मिटर माघ ११ गते खनेर प्रधानमन्त्री ओलीले ‘ब्रेक थ्रु’ गर्ने कार्यक्रम तय भएको अधिकारीको भनाइ छ । यो सुरुङमार्गमा सवारी साधन गुडिरहेको बेला आपातकालीन अवस्थामा यात्रुलाई उद्धार गर्न १५१ मिटरको पहिलो बाइवास, १६१ मिटरको दोस्रो बाइपास र १३० मिटर दुरीको तेस्रो बाइपास पनि निर्माण गरिएको छ । यसको पहिलो बाइपास सुरुङमार्ग २०८१ असोज ४ गते छिचोलिएको थियो । दोस्रो २०८१ पुस ७ गते र तेश्रो बाइपास २०८१ भदौ २६ गते छिचोलिएको थियो । मुख्य सुरुङमार्गमा समस्यामा परेमा यात्रुको उद्धार गरी तत्कालै उपचारका लागि लैजान सुरुङमार्गको उत्तर र दक्षिणपट्टी हेलिप्याडसमेत निर्माण गर्ने तयारी छ ।
कति निर्माण बाँकी ?:
आयोजना प्रमुख अधिकारीका अनुसार हालसम्म सुरुङमार्ग खन्ने काम लगभग सकिएको छ । भौतिक प्रगति ३८.८५ प्रतिशत र वित्तीय प्रगति ३९.९० प्रतिशत सम्पन्न भएको छ । लाइनिङ, भेन्टिलेसनको काम भने अझै बाँकी छ । सुरुङमार्ग छिचोल्ने काम अन्तिम चरणमा पुगे पनि सुरुङभित्रको लाइनिङ र ‘स्लोप’ मिलाउन समय लाग्ने भएकाले सवारी गुडाउन एक वर्ष अझै लाग्ने आयोजनाले जनाएको छ । भित्तामा कङ्क्रेटिङ गर्ने, वाटर प्रुफिङ, सडक निर्माण, सुरुङभित्र ढलान, भेन्टिलेसन, लाइनिङ्ग, लाइटिङ, अक्सिजन, सुरक्षाका उपाय, आगो निभाउने यन्त्र जडानलगायतका काम गर्न बाँकी छ । साभार : रापा












