कुलमानलाई हटाएर प्राधिकरण फर्कने हितेन्द्र शाक्यको च्याप्टर क्लोज…..

काठमाडौँ –     नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा सोमबार पनि सुनुवाइ भएन । सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासमा पेसी रहेको मुद्दा १२ औँ नम्बरमा भए पनि सुनुवाइ भएन । दुवै न्यायाधीशको एकल इजलास पनि भएका कारण आज हेर्न नभ्याउने हुँदै स्थगित भयो । अब शाक्यको पदावधि पाँच दिनमात्र बाँकी छ । सर्वोच्चले पुनः पाँच दिनमा पेसी राखेर सुनुवाइ गरी फैसला गर्ने सम्भावना नभएका कारण शाक्यको प्राधिकरण फर्कने ‘च्याप्टर क्लोज’ भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्ति र आफूलाई हटाउने निर्णय विरुद्धको मुद्दामा सुनुवाइको आशा बोकेर शाक्य सुरुमा २०७८ भदौ १ गते सर्वोच्च पुगेका थिए । चार वर्षदेखि शाक्य सर्वोच्चमा मुद्दा लडिरहेका थिए तर उनी अवकाशमा जाँदासम्म सर्वोच्चबाट फैसला आएन । मुद्दामा लिखित जवाफ पेस गर्नेदेखि सबै अंग पुगेको छ । तर यो विवादमा फैसला गर्न अदालत नै डराएको शाक्यको बुझाइ छ । घिसिङ हटाउन सरकार लागेकाले पनि यो मुद्दामा सर्वोच्च अप्ठ्यारोमा परेको उनले बताए । उक्त रिटमा विपक्षी बनाइएका सबैको लिखित जवाफसमेत अदालत पुगेकाले फैसलाकै बहस सुरु हुनुपर्ने थियो । ‘अवकाशको उमेर रहेसम्म ममाथि अन्याय भयो भनी अदालत धाएको थिएँ,’ उनले भने, ‘अब अवकाशपछि रिट खारेज हुने होला,’ उनले रोष प्रकट गरे । तत्कालीन समय अदालतले अन्तरिम आदेश जारी नगर्ने निर्णय गर्दै १५ दिनभित्रै सबैको लिखित जवाफ मगाएर फैसला गर्ने भनेको थियो । सर्वोच्चले अन्तरिम आदेशको सट्टा यस्तो आदेश गर्दै फैसलाबाटै छिट्टै निर्णय हुने भनेकाले शाक्यले छिटै न्याय निरूपण हुने आशा गरेका थिए । तर, उक्त दिनपछि हरेक पटक ‘हेर्न नभ्याइने’ भएपछि आशाभन्दा बढी निराशा थपिदिएको उनको टिप्पणी छ । उनले आफूलाई अदालतले अन्याय गरेको दाबी गरे ।साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार