काठमाडौँ- सत्तारूढ दल नेकपा (एमाले) का नेता विष्णु रिजालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पूर्वाग्रह साँधेर पक्राउ गरिएको रहेनछ भन्ने कुरा अदालतले धरौटी मागेकोबाट प्रष्ट हुने बताएका छन्। बरु लामिछाने नै गृहमन्त्री हुँदा कैलाश सिरोहियालाई शक्तिको घमण्ड देखाउन र पूर्वाग्रह साँध्नका लागि पक्राउ गर्ने काम भएको उल्लेख गर्दै उनले भनेका छन्, ‘पूर्वाग्रह साँध्नका लागि अहिले सरकारले उहाँलाई पक्राउ गरेको रहेनछ र सहकारी ठगीमा उहाँको संलग्नता रहेछ भन्ने कुरा कास्की, काठमाडौं, रुपन्देही र चितवन अदालतले ‘निज अभियुक्त निर्दोष हुन् भन्न सकिएन‘ भन्दै धरौटी माग गरेबाट प्रष्ट हुन्छ।’ बाँकी निर्णय अदालतको हातमा रहेको उल्लेख गर्दै उनले थप भनेका छन्, ‘सरकारले अनुसन्धान गर्ने हो, कानुनी कारबाहीका सवालमा सरकार होइन, अदालत अन्तिम हुन्छ। चुनाव, राजनीति, ०८४ तपसिलका कुरा भएको उनले बताए। ‘पहिले त आफूमाथि लागेको अभियोगबाट सफाइ पाउनु नागरिकको दायित्व हुन्छ,’ उनले फेसबूकमा लेखेका छन्। लामिछाने कास्कीको सूर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मी, रुपन्देहीको सुप्रिम र चितवनको साहाराबाट धरौटी बुझाएर छुटिसकेका छन्। यसअघि बिहीबारको संसद् बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले लामिछानेको सांसद पद निलम्बनमाथि पुनर्समीक्षा गर्न माग गरेका थिए। अदालतले धरौटीमा छाडिसकेपछि पनि सम्पत्ति शुद्धीकरण जोडेर उनको सांसद पद निलम्बन गर्नु कति संवैधानिक र न्यायपूर्ण छ भनेर उनले संसद्मै प्रश्न गरेका थिए। यसपछि नेता रिजालले यस्तो लेखेका हुन्। साभार : नादप