काठमाडौं – छिमेकी भारतले १०० घण्टामा १०० किलोमिटर एक्सप्रेस वे बनाएर विश्व रेकर्ड कायम गरेको छ । तर, नेपालमा भने चालु आर्थिक वर्ष २०८१/८२ मा प्रतिदिन औसत जम्मा १.३१ किलोमिटरका दरले सडक कालोपत्रे भएको पाइएको छ । यसअघि प्रतिदिन ५ किलोमिटरका दरको रफ्तारमा हुने सडक कालोपत्रे यस वर्ष घटेको स्वयम् सरकारी निकायले स्वीकार गरेका छन् । भौतिक योजना तथा यातायातमन्त्री देवेन्द्र दाहालले शुक्रबार माघ मसान्तसम्मको प्रगति विवरण सार्वजनिक गरेका छन् । उनका अनुसार यस वर्ष ७ महिना (साउन–माघ)मा कालोपत्रे स्तरको नयाँ सडक २ लेनमा २४६ किलोमिटर र २ लेनमाथिको सडक ३०.५८ किलोमिटर निर्माण भएको छ । यस अनुसार हरेक दिन औसतमा १.३१ किलोमिटर मात्र सडक कालोपत्रे भएको देखिन्छ । मन्त्री दाहाल समग्र अर्थतन्त्रमा देखिएको सुस्तताको असर सडक निर्माणको गतिमा पनि देखिएको बताउँछन् । उनी भन्छन्, ‘कुनै बेला प्रतिदिन ५ किलोमिटरसम्म कालोपत्रे भएको अवस्था पनि थियो, अहिले यो रफ्तार कम भएको छ ।’ सडक कालोपत्रेको गति आवको बाँकी अवधिमा बढ्ने दाबी मन्त्रालयका सचिव केशवकुमार शर्माको छ । ‘एक त अहिले सडकहरु विगतको तुलनामा फराकिलो भएका छन्, त्यसले लम्बाईको गति कम भएको छ,’ उनी भन्छन्, ‘तर, अहिले सुस्त देखिएको गति अबको बाँकी अवधिमा बढ्छ ।’ आर्थिक वर्षको सुरवाती महिनामा भौतिक निर्माणतर्फको काम कम हुने भएकाले समेत कालोपत्रे सडक निर्माणको गति अपेक्षित नबढ्ने उनको भनाइ छ । सडक विभागका महानिर्देशक रामहरि पोखरेल भुक्तानीको समस्या निर्माणमा देखिँदा सडक निर्माणले गति लिन नसकेको बताउँछन् । गत वर्षको दायित्व चालु आवमा सरेर आउनु र सो फरफारकमा बढी ध्यान केन्द्रित गर्दा यस वर्षको निर्माण प्रभावित भइरहेको उनी बताउँछन् । अर्थ मन्त्रालयका अनुसार गत आवसम्मको सिर्जित दायित्व भौतिक मन्त्रालयसहितका मन्त्रालयमा २८ अर्ब ५१ करोड ९० लाख भुक्तानी दिन बाँकी थियो । त्यसमध्ये ६ महिनामा २२ अर्ब २२ करोड ८९ लाख भुक्तानी गर्न स्रोत व्यवस्थापन गरिसकिएको छ । मन्त्रालयले चालु आवमा १ खर्ब ५० अर्ब ५३ करोड रुपैयाँ बजेट कार्यान्वयन गरिरहेको छ । यसमध्ये ७ महिनामा २८.१५ प्रतिशत बजेट खर्च गरेको छ । यस वर्ष मन्त्रालयले चालुतर्फ ७ अर्ब ४८ करोड ६३ लाख र पूँजीगततर्फ १ खर्ब ४३ अर्ब ४ करोड रुपैयाँ बजेट कार्यान्वयन गरिरहेको छ । सडक विभागका अनुसार नेपालमा राणा शासनकालबाटै औपचारिक रुपमा सडक निर्माण सुरु भएको थियो ।साभार : अखप












