फिनिसिङमा चुक्दा नेपालको कठिन जित…..

काठमाडौं –     अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताअघिको प्रि म्याच कन्फ्रेन्समा नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले किर्गिस्तानलाई हराउने तर कठिन हुने बताएका थिए । सोमबार दशरथ रंगशालमा नेपाल र कीर्गिस्तानको खेल पनि त्यस्तै रह्यो । ६ वर्षअघि उसैको मैदानमा ८–२ को सानदार जित निकालेको नेपाललाई किर्गिस्तानले ६ वर्षपछि भने दशरथ रंगशालमै टक्कर दियो । कमजोर मानिएको प्रतिद्वन्द्वी किर्गिस्तानसँग मैदानमा नेपाली खेलाडीले एकभन्दा बढी ‘सेलिब्रेसन’ देख्न पाइने अपेक्षा थियो । तर, मैदानमा त्यस्तो भएन । नेपाल १–० को नतिजामै चित्त बुझायो । १०औं मिनेटमै विमला चौधरीको गोलबाट नेपालले अग्रता लिएको थियो र विपक्षीमाथि दबाब पनि बनाएको थियो । जसले गर्दा नेपालले गोल थप्ने अनुमान गरिएको थियो । तर फिनसिङमा नेपाल चुक्यो । किर्गिज डिफेन्डरले नेपालको अट्याकलाई बारम्बार रोके । फ्रान्सबाट फर्किएकी सावित्रा भण्डारी दोस्रो हाफमा मैदान प्रवेश गरे पनि कमाल देखाउन सकिनन् । रेखा पौडेलको प्रदर्शन पनि प्रभावशाली हुन सकेन । पहिलो हाफको अन्त्यमा पाएको सुन्दर अवसर नेपालका लागि गोलमा परिणत हुन सकेन । रश्मी घिसिङको प्रहार बारमा लागेर फर्कंदा रिबाउन्डमा सविता रानामगरको प्रहार पनि बारमा लागेको थियो । त्यसको रिबाउण्डमा रेखाले गरेको प्रहार विपक्षी गोलरक्षकले विफल पारिन् । दोस्रो हाफमा पनि नेपालले केही अवसर बनाउँदा अन्तिम रूप दिन सकेन । ५१औं मिनेटमा सावित्राको प्रहार फितलो हुँदै पोस्टको बाहिरतर्फ गयो । ६४औं मिनेटमा सबिताको क्रसमा सावित्राको शट प्रयास असफल रह्‍यो । त्यसलगत्तै प्राप्त ओपन चान्समा रेखाले बल भेट्न सकिनन् । ८१औं मिनेटमा सविता रानामगरको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । इन्जुरी समयमा सावित्राले पोस्ट नजिकैको मौका गुमाउँदा त्यसको केही समयमै किर्गिस्तानले फ्रिकिक पाउँदा पोस्टको केही माथिबाट गयो । नेपालमा पहिलोपटक आयोजना भएको चारदेशीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको पहिलो खेल जिते पनि बाँकी खेलमा नेपालले निकै मिहिनेत गर्नुपर्ने देखिएको छ ।साभार : अखप 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार