ओडिसाको किट विश्वविद्यालय कसरी पुगे यतिका नेपाली विद्यार्थी ?…..

काठमाडौँ –    भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युले स्तब्ध बनायो । उनको ‘आत्महत्या’पछि उक्त विश्वविद्यालयले नेपाली विद्यार्थीमाथि गरेको दमन र दुर्व्यवहारका कारण नेपाल र भारत दुवैतर्फ तरंग पैदा गर्‍यो । अहिले अवस्था सामान्य बने पनि नेपाली विद्यार्थी अझै विश्वविद्यालय फर्किसकेका छैनन् । होस्टेलभित्र भएको कुटपिट तथा जबर्जस्ती होस्टेलबाट निकालिएको घटनापछि नेपाली विद्यार्थीहरू त्रासमा छन् । उनीहरू तत्कालै विश्वविद्यालय फर्किन मानसिक रूपमा तयारसमेत छैनन् । त्यसका लागि केआईआईटी विश्वविद्यालय तथा भारत सरकारले विद्यार्थीहरूलाई सुरक्षा प्रत्याभूति दिलाउने प्रयास गरिरहेका छन् । एक हजार एक सय ६० नेपाली विद्यार्थी अध्ययनरत उक्त विश्वविद्यालयमा भएको उक्त घटनाले यतिको संख्यामा नेपाली विद्यार्थी कसरी त्यहाँ पुगे भन्ने प्रश्न उठेको छ । नेपालको सरकारी निकायहरू नै चकित पर्ने खालको विषयवस्तु बाहिर आएको छ । नेपालबाट विदेशमा पढ्न जान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट अनुमति (एनओसी) लिनुपर्ने हुन्छ । शिक्षा मन्त्रालयअन्तर्गत वैदेशिक अध्ययन अनुमति शाखाले चालु आर्थिक वर्षको फागुन २ गतेसम्म दुई हजार १७ जनालाई भारत पढ्न जान एनओसी दिएको थियो । त्यस्तै गत वर्ष २०८०/०८१ मा दुई हजार २८९ विद्यार्थीले भारतका लागि एनओसी लिएको देखिन्छ । तर, एउटा विश्वविद्यालयमा एक हजारभन्दा बढी विद्यार्थी पढिरहेका छन् । जसले गर्दा नेपालबाट एनओसी नै नलिई विद्यार्थी केआईआईटीमा पढ्न गएको सरकारी अधिकारीहरूको बुझाइ छ । एनओसी शाखाका प्रमुख रमेश घिमिरेले एनओसी जारी भएको र केआईआईटीमा पढिरहेको तथ्यांक हेर्दा एनओसी नलिई पनि पढ्न जाने गरेको देखिएको बताए । भारतभरका लागि वार्षिक २ हजार हाराहारीमा एनओसी जारी भएको देखिन्छ । तर, केआईआईटीमा मात्रै एक हजार दुई सय हाराहारीमा विद्यार्थी पढिरहेकाले भारत पढ्न जाने धेरै विद्यार्थीले एनओसी नलिने गरेको देखिएको हो । तथ्यांक र पढ्ने विद्यार्थीको संख्या हेर्दा भारतमा कतिपय विद्यार्थीले एनओसी नलिई गएको देखियो । खुला सिमानाका कारण इमिग्रेसनमा समस्या हुँदैन,’ शाखा प्रमुख घिमिरेले भने, कतिपयले विश्वविद्यालय पुगेर पढ्न थालेपछि माग्ने गरेका छन् । कतिपयलाई एनओसी चाहिन्छ भन्ने पनि थाहा छैन । भारतसँग खुला सिमा तथा भिसा नचाहिने भएकाले विद्यार्थीहरूलाई कलेजको शुल्क तिर्न समस्या हुँदैन । विद्यार्थीहरूलाई बैंकमार्फत कलेजको शुल्क बुझाउन एनओसी आवश्यक पर्छ । तर, भारतको हकमा त्यस्तो नहुने भएपछि विद्यार्थीहरूले एनओसी नलिएको हुन सक्ने उनको भनाइ छ । कुन विश्वविद्यालयका लागि कति जनालाई एनओसी दिएको भन्ने तथ्यांक नहुने घिमिरेको भनाइ छ । जसले गर्दा केआईआईटीका कति एनओसी जारी भएको भन्न नसकिने उनले बताए । विदेशमा उच्च शिक्षा पढ्न एनओसी अनिवार्य चाहिन्छ । एनओसी नलिई पढ्न गएका विद्यार्थीलाई पछि नेपाल फर्किने बेला समकक्षता लिनसमेत समस्या हुने गरेको छ । तर, भारत जाने विद्यार्थीहरूको हकमा एनओसी अनिवार्य लिनुपर्छ भन्ने ज्ञान नहुँदा समस्यामा पर्ने गरेका छन् । भारतलगायत देशबाट उच्च शिक्षा पढेर फर्किएपछि त्रिभुवन विश्वविद्यालयबाट समकक्षता लिनुपर्ने हुन्छ । नेपालको पाठ्यक्रम र उताको पाठ्यक्रम हेरेर क्रेडिट आवरका आधारमा त्रिविले समकक्षता दिने गरेको छ ।साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार