९ महिनापछि नेपाली फुटबलले पायो स्थायी प्रशिक्षक…..

काठमाडौं –       नेपाली राष्ट्रिय फुटबल टिमले ९ महिनापछि मुख्य प्रशिक्षक प्राप्त गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार अष्ट्रेलियन नागरिक म्याट रोसलाई नेपालको मुख्य प्रशिक्षक नियुक्त गरेको हो । एक महिनाअघि नै म्याट रोस नेपाल आएका बेला उनी नै मुख्य प्रशिक्षक बन्ने चर्चा चलेपनि एन्फाले एक महिनापछि मात्रै आधिकारिक रुपमा उनलाई सार्वजनिक गरेको हो । यसअघि नेपालको मुख्य प्रशिक्षक रहेका इटालियन नागरिक भिन्सेन्जो अल्बर्टो एनेसको सम्झौता जेठमै सकिएको थियो । त्यसपछि एन्फाले उनलाई निरन्तरता दिने वा अवधि थप्ने केही निर्णय गरेन । भदौमा मात्र एन्फाले आधिकारिक रुपमा एनेसको सम्झौता नविकरण नगर्ने निर्णय सार्वजनिक गरेको थियो । त्यसपछि एन्फाले मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको थियो । जसमा ४०० भन्दा बढीले आवेदन हालेकोमा एन्फाले म्याट रोसलाई छानेको हो । यस बीचमा नेपालले ताजिकिस्तान गएर घरेलु टोली र अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्दा नविन न्यौपानेले अन्तरिम मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । रोस पहिलो पटक कुनै पनि देशको पुरूष राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बनेका हुन् । यसका लागि उनी आफु उत्साहित रहेको बताएका छन् । प्रशिक्षक नियुक्त भएपछि उनले एन्फा टिभीसँग कुरा गर्दै सर्ट टम र लङ टमका केही उद्देश्य समेत सुनाएका छन् ।  नेपालको मुख्य प्रशिक्षक बन्दा एकदमै उत्सहित छु’ रोसले एन्फा टिभीसँग भनेका छन् । रोसले आफू काठमाडौं आएदेखि नै उत्साहित रहेकोको र यसबीचमा सभापित कप, महिला अन्तर्राष्ट्रिय प्रतियोगिता र केपी ओली कप लगायत प्रतियोगिता हेरेको बताए । पुरष नकआउट प्रतियोगिताबाट आफू उत्साहित रहेको र एसियन कप छनोटमा कस्तो प्रदर्शन गर्छ भनेर हेर्न उत्सुक रहेको रोसको भनाइ छ ।

को हुन् म्याट रोस ?:

इंग्ल्याण्डको न्युक्यासलमा जन्मिएका अस्ट्रेलियन नागरिक म्याट रोस ‘यूईएफए प्रो लाइसेन्स’ मान्यता प्राप्त प्रशिक्षक हुन् । पछिल्लोपटक उनले दक्षिण कोरियाको महिला टोलीको सहायक प्रशिक्षक बनेर काम गरेका थिए । उनी सन् २०२० देखि २०२३ सम्म कोरियाको सहायक प्रशिक्षक थिए । यस्तै रोसले स्वीडिस महिला शीर्ष डिभिजन क्लब भिन्सो जियाकेको पनि प्रशिक्षक भएर काम गरेका थिए । उनी सहायक प्रशिक्षक रहँदा दक्षिण कोरियाको महिला टोलीले सन् २०२२ को एएफसी एसियन कपको फाइनलमा स्थान बनाएको थियो । तर फाइनलमा कोरिया चीनसँग ३-२ ले पराजित हुँदै उपविजेता बनेको थियो । त्यसअघि उनले चीनको यू-१५ राष्ट्रिय महिला टोलीको प्रशिक्षकको रुपमा काम गरेका थिए । चीन छाडेर उनी कोरिया पुगेका थिए । रोसले सुरूमा केही समय एम्याचोर फुटबल खेले । त्यसपछि उनले लाइन्समेन् हुँदै रेफ्री बन्ने प्रयास पनि गरे । त्यसपछि उनी शिक्षक पनि बने । तर फुटबलबाट टाढिन सकेनन् । २८ वर्षको हुँदा उनले फेरि खेल्ने प्रयास गरेका थिए । तर अर्को वर्ष उनी फुटबल फेडेरेसन नर्दन टेरीटोरीको प्रशिक्षकको रुपमा काम गर्न थाले । डार्विनमा ५ वर्ष कोचिङ काम गरेपछि उनले अष्ट्रेलियामा करियर देखेनन् र जर्मनी लागे । सुरुमा उनी आफ्नो फुटबलको ज्ञान विकास गर्न यूरोप लागेका थिए तर पछि उनले यसमै आफ्नो भविष्य खोज्ने सोच बनाए । उनी आफ्नी श्रीमतीसँगै जर्मनी पुगेका थिए । सुरुमा उनले जर्मनीमा भिडियो एनालिस्टको रुपमा काम गर्न थाले । जर्मनीको फ्रान्कफर्ट महिला टिमको भिडियो एनालिस्ट हुँदै कार्यवाहक प्रशिक्षकदेखि उनी मुख्य प्रशिक्षक सम्म बने । उनी प्रशिक्षक रहँदा सन् २०१५ मा फ्रान्कफर्टले यूईएफए वुमन्स च्याम्पियन्स लिगको उपाधि समेत जितेको थियो । त्यसपछि उनी मुख्य प्रशिक्षक नै बने । त्यसपछि उनले यूईएफएको लाइसेन्स लिए । उनले दुई वर्ष फ्रान्कफर्टको मुख्य प्रशिक्षक भएर काम पनि गरे । क्लबबाट बहिर्गमनपछि उनले सन् २०१७ मा स्वीडिस क्लब भिट्जो जीआईकेको प्रशिक्षक बने । स्वीडेनमा एक सिजन बिताएपछि उनलाई चीनबाट प्रस्ताव आयो । जसलाई उनले नकार्न सकेनन् अनि चीन आए । चीनबाट दक्षिण कोरिया पुगेका थिए ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार