काठमाडौं – थापाथली क्षेत्रमा आज बिहान मेलम्चीको पाइप फुटेको छ । थापाथली चोकबाट नर्भिक अस्पतालतर्फ मोडिने ठाउँमा खानेपानीको पाइप फुटेको हो । पाइप फुटेपछि ठूलो फोर्समा पानी बाहिर निस्किँदा सडक भत्किएको छ । सडकपेटीमा पनि क्षति पुगेको छ । सडकभरि हिलो र ढुंगाका गिट्टी छरिएका छन् । वरपरका पसलहरुमा पानीको भेल पसेको छ । सो क्षेत्रमा रेष्टुरेन्ट र औषधि पसलहरु छन् । केही पसल र रेष्टुरेन्टहरुमा भेल पसेर जलमग्न भएको छ ।
आज बिहान करिब पाँच बजेतिर पाइप फुटेको बताइएको छ । पाइप फुटेको थाहा पाउनासाथै गेटभल्भ बन्द गरिएकाले ठूलो क्षति हुन भने पाएन । यसअघि माघ ३० गते काठमाडौंको बिजुलीबजार–बबरमहल सडकखण्डमा पाइप फुटेको थियो । त्यतिबेला सो क्षेत्रमा रहेका वन कार्यालय लगायतका सरकारी कार्यालयहरु जलमग्न भएका थिए । अदालतको इजलास नै स्थगित गर्नुपरेको थियो । बबरमहल क्षेत्रको सडकमा नेपाल विद्युत् प्राधिकरणले बिजुलीको भूमिगत तार बिछ्याउने क्रममा मेलम्चीको ठूलो पाइपमा क्षति पुगेको थियो । अर्को दिन नै पाइप मर्मत गरिएको थियो । आज फेरि थापाथली क्षेत्रमा पाइप फुटेको छ तर यहाँ पाइप फुट्नुको कारण भने खुलिसकेको छैन । मेलम्चीका अधिकारीहरु सम्पर्कमा आएका छैनन् ।साभार : अखप