बराह सहकारीको खातामा ७ लाख २७ हजार मात्रै…..

विराटनगर –      शिवकुमार विश्वकर्मा (लामिछाने) सहितको समूहले बराह बचत तथा ऋण सहकारीको १० अर्ब ७३ करोड रुपैयाँ हिनामिना गरेको दाबीसहित जिल्ला अदालत सुनसरीमा मुद्दा दायर भएको छ । १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९ सय १३ रुपैयाँ अपचलन गरेको दाबीसहित २ सय ६२ जनाविरुद्ध मुद्दा दायर भएको हो । मुद्दामा प्रतिवादी बनाइएका ३५ जना बाहेक अन्य ऋणी हुन् । प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले दायर गरेको अभियोगमा सर्वसाधारणको बचत तथा सेयर जम्मा गरेको रकम व्यक्तिगत सम्पत्ति खरिद र बराह ग्रुप अफ कम्पनी अन्तर्गतका १४ कम्पनीमा लगानी गरेको उल्लेख छ । अनुसन्धानका क्रममा यो सहकारीको नाममा बैंक मौज्दात भने ७ लाख २७ हजार ७ सय ८० रुपैयाँमात्र छ । बराह ज्वेलरी हुँदै उदाएको बराह ग्रुपले बराह बचत तथा ऋण सहकारी संस्था सञ्चालन गरेको थियो । सहकारीको बचत मास्न ज्वेलरी मार्फत कारोबार हुन्थ्यो । सहकारीको दायित्व १० अर्ब ८९ करोड ९५ लाख २० हजार २ सय ३५ रुपैयाँ छ । यो रकममध्ये ज्वेलरीमा जम्मा भएको ९ अर्ब ७१ करोड ८९ लाख ८० हजार ५ सय २० रुपैयाँ हो । सेयर रकम १० करोड १३ लाख ९७ हजार ३ सय, सहकारीमा भएको बचत ६८ करोड ९७ लाख ३४ हजार ६ सय ४७ रुपैयाँ र बचतको ब्याज १ करोड ५५ लाख ३५ हजार ३ सय ६ रुपैयाँ छ ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार