काठमाडौँ – चैत महिना आन्दोलनमय बन्ने देखिएको छ । गणतन्त्रवादी र राजावादी शक्तिहरू चैतमा आ–आफ्ना एजेण्डासहित आन्दोलनमा होमिने तयारीमा छन् । फागुन २५ गते पूर्वाराजा ज्ञानेन्द्र शाहको स्वागतमा मानिसको बाक्लो उपस्थितिले झस्किएको प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले समाजवादी मोर्चासँग मिलेर चैत १५ गते काठमाडौँमा बृहत् विरोध सभा गर्ने घोषणा गरेको छ । माओवादी, नेकपा (एकीकृत समाजवादी), नेपाल कम्युनिस्ट पार्टी र नेपाल समाजवादी पार्टी आबद्ध चार दलीय मोर्चाको मंगलबार बसेको बैठकले प्रतिगमनविरुद्ध विरोधसभा गर्ने निर्णय गरेको हो । मोर्चाले चैत १ गते पत्रकार सम्मेलन गरी आन्दोलनबारे थप जानकारी गराउने तयारी गरेको छ । मोर्चाले चैत २ गते बौद्धिक वर्गसँग अन्तक्र्रिया कार्यक्रम राखेको छ । जनताले हटाइसकेको र तिरस्कार गरिसकेको राजतन्त्रलाई पुनर्स्थापित गर्ने षड्यन्त्र भइरहेको निष्कर्ष निकालेको मोर्चाले सदन र सडकबाट प्रतिरोध गर्ने निर्णय गरेको छ । नेपाली जनताले हटाइसकेको र तिरस्कार गरिसकेको राजतन्त्रलाई फेरि पुनर्स्थापित गर्ने जुन हर्कत चलिराखेका छन्, यसलाई हामीले ठुलो प्रतिगामी षड्यन्त्र भएको निष्कर्ष निकालेका छौँ । षड्यन्त्रबारे गम्भीर समीक्षा गरेका छौँ । सदन र सडक दुवै मोर्चाबाट प्रतिगमनविरुद्ध सशक्त प्रतिरोध गर्छौं’, बैठकपछि नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले भनेका थिए । पूर्वराजा ज्ञानेन्द्रको सक्रियतालाई लिएर पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित जागरण अभियान स्थगित गरी राजधानी फर्किएको माओवादीले गम्भीर समीक्षा गरेको छ । फागुन २६ गते बसेको पदाधिकारी बैठकले निर्वाचनमार्फत अतिवादी शक्ति सत्तामा पुग्ने क्रम संसारभर बढ्दै गएको, छिमेकी मुलुक भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ नेपालमा हिन्दुराष्ट्र बनाउन खुलेर लागेको तथा एकसाथ पूर्वजनरल नेपाल आएको विषयले राजावादीहरू सलबलाएको माओवादी पदाधिकारी बैठकको निष्कर्ष थियो । चैतको पहिलो हप्ता बस्ने बैठकले देशी/विदेशी प्रतिगामी तथा प्रतिक्रियावादीविरुद्ध पार्टीले छुट्टै आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको माओवादीका सचिव चक्रपाणि खनाल ‘बलदेव’ले बताए । उनले पूर्वनिर्धारित जागरण अभियानलाई पनि सँगसँगै लैजाने जिकिर गरे । देशभित्र र बाहिरका कट्टर हिन्दुपन्थी शक्ति तथा अतिवादी शक्तिहरूको आडमा राजावादीहरू सलबलाएको निष्कर्ष हामीले निकालेका छौँ । हामी संघीय लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि सम्भव भएसम्म सबै मोर्चा प्रयोग गर्छौं । चैतको पहिलो हप्ता बस्ने पार्टीको बैठकले वस्तुगत सुक्ष्म अध्ययन गरी थप आन्दोलनका कार्यक्रम ल्याउनेछौँ।साभार : रापा












