काठमाडौं – विगतमा वैकल्पिक राजनीतिको वकालत गर्दै मार्गपरिवर्तन गर्ने रवीन्द्र मिश्र, स्वतन्त्र राजावादी अभियान चलाउने केशरबहादुर विष्ट, मधेसको क्षेत्रीयतावादी राजनीति हुँदै एमाले निकट बनेका राजेश अहिराज, कोरोना भाइरस भगाउने मन्त्र निकालेका पूर्वप्राज्ञ जगमान गुरुङ, अनि सीके राउतले इलाम २ को उपचुनावमा समर्थन गरेका लिम्बुवान पहिचानवादी उम्मेदवार प्रेमदीप थाम्सुहाङ : यी सबै आफूसँग रहेको दाबी गर्दै राजा फर्काउने मोर्चाका संयोजक बने ८६ वर्षीय पञ्च नेता, नवराज सुवेदी । जनआन्दोलनपछि पुनर्स्थापित संसद्का जनप्रतिनिधिबाट निलम्बित, अनि जनताले चुनेको संविधानसभाबाट झन्डै शतप्रतिशत मतसहित नारायणहिटी दरबारबाट निस्काशित भएका थिए, पूर्वराजा ज्ञानेन्द्र शाह । तिनै शाहलाई संविधानसभाबाट बनेको संविधान खारेज गर्दै, अनि ०४७ को संविधान फेरि फर्काउने प्रयास सुरु भएको छ । यिनैमध्येको ठूलो अभियानजस्तो देखिनेगरी सोमबार दिउँसो पाँचपाने प्रतिबद्धतापत्र जारी भयो । त्यसक्रममा ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का तर्फबाट संयोजक सुवेदीले तीन अलग अलग समिति घोषणा गरे । ११ सदस्यीय निर्देशक समितिमा अस्मिता भण्डारी, कमल थापा, दुर्गा प्रसाईं, पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी, रवीन्द्र मिश्र, रमा सिंह, राजेन्द्र लिङ्देन, हरिबहादुर बस्नेत, केशरबहादुर विष्ट सदस्य रहेको घोषणा गरियो । यस समिति अन्तर्गत गठन हुने आन्दोलन परिचालन समितिको संयोजक धवलशमशेर राणा, अनि सल्लाहकारमा जगमान गुरुङ, बुद्धिराज बज्राचार्य, शास्त्रदत्त पन्त, राजेश अहिराज र खेमराज सेढाई छन् । तर समिति र सल्लाहकार समूह घोषणा गरिसक्दा नसक्दै विभिन्न नेताहरूले आफूहरूसँग सल्लाहै नगरी सदस्य राखिएको भन्दै आपत्ति जनाउन थाले । यसरी प्रतिवाद गर्नेमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपाल अध्यक्ष कमल थापा, राजावादी स्वतन्त्र मोर्चाका संयोजक केशरबहादुर विष्ट, सल्लाहकार राजेश अहिराज लगायत छन् । राजावादी तथा राष्ट्रवादी ब्रान्डमा आफूलाई चम्काउँदै आएका नेताहरूले नै यो ‘संयुक्त जनआन्दोलन समिति’मा नरहेको घोषणा गरेपछि पूर्वराजा ज्ञानेन्द्र फर्काउन घोषित अभियानको सुरुवाती उत्साहमा पक्कै फरक पर्न सक्ने देखिन्छ । यद्यपि, पञ्चायतमा धेरैपल्ट सत्तारोहण गरेका ८६ वर्षीय नेता सुवेदी एक्लैमा राजासहितको ‘प्रजातन्त्र’ फर्काउने आन्दोलन घोषणा गर्ने हिम्मत भने त्यसै आएको होइन । सुवेदीका पछाडि ढाल बनेर उभिएका छन्, दुर्गा प्रसाईं, जसको नाम युट्युब र टिकटकमा मात्रै होइन, बैंक तथा वित्तीय संस्थाहरूको कालोसूचीमा पनि भेटिन्छ । सोमबार काठमाडौंको डिल्लीबजारस्थित भोजनगृहमा उपस्थित सबैखाले सम्प्रदायका राजावादीहरूबीच प्रसाईंले खुलेआम घोषणा गरे, ‘नवराज सुवेदी दाईले सारथिको भूमिका खेल्नुहुन्छ, बाण चलाउने काम म गर्छु ।साभार : अखप












