काठमाडौँ- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सोमबार साँझ सूचना आयो – रसुवा नाका हुँदै चीन पुर्याउन अवैध विदेशी मुद्रा काठमाडौंबाट लगिँदै छ। त्यसपछि कार्यालयबाट प्रहरी टोली खटियो। सूचना पछ्याउँदै गएको टोली राति ११ बजे टोखा नगरपालिका वडा नं. २ झोरमा पुग्यो। त्यहाँ ना ७ ख १६५२ नम्बरको ट्रक फेला पर्यो। उक्त ट्रक त्रिशूली हुँदै केरुङतर्फ हिँडिरहेको सूचना प्रहरीसँग थियो। ट्रकमा चालक एकजना मात्र थिए। उनी थिए– सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका–१ का फुच्चे भनिने ४३ वर्षीय कुशाङ लामा। प्रहरीले सामान्य सोधपुछ गर्दा शंकास्पद कुरा गरेपछि प्रहरीले ट्रकसहित लामालाई नियन्त्रणमा लिएर अपराध अनुसन्धान कार्यालय टेकुतर्फ लिएर आयो। टेकुस्थित अपराध अनुसन्धान कार्यालय पुगेपछि प्रहरीले थप सोधपुछ गर्दा लामाले ट्रकमा सामान रहेको र त्यो के हो आफूलाई थाहा नभएको बताए। त्यसपछि प्रहरीले खानतलासी गर्दा क्याबिनमा चालक सिटको माथि हुने फल्सबटन बनाई र्याप गरेर लुकाएर राखिएको अवस्थामा सामान फेला पर्यो। प्रहरीले खोलेर हेर्दा अमेरिकी डलर र युरो नोटका बन्डलैबन्डल फेला परे। जसमा अमेरिकी डलर १०० दरका नोट तीन हजार एक सय १९ थान र ५० दरको नोट एक सय ७९ थान फेला परेको अपराध अनुसन्धान कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश बस्नेतले जानकारी दिए। उनका अनुसार त्यही बक्समा युरो ५०० दरका ११ थान, २०० दरका चार सय ८० थान, १०० दरका चार हजार एक सय ४८ थान र ५० दरका सात हजार एक सय ७७ थान नोट फेला परे। नेपाली विनिमय दरअनुसार हिसाब गर्दा बरामद ती नोटको मूल्य २५ करोड एक लाख ६० हजार तीन सय ८० रुपैयाँ हुने एसएसपी बस्नेतले जानकारी दिए। पक्राउ परेका लामा भरिया मात्रै रहेको प्रहरीले दाबी गरेको छ। ‘ट्र्याक रेकर्ड’ भने उनी पुरानै तस्कर गिरोहको सदस्य रहेको प्रहरीकै अर्को भनाइ छ। प्रहरीका अनुसार उनी यसअघि सुन तस्करीमा पक्राउ परेर पाँच वर्षको कैद सजाय भुक्तान गरिसकेका व्यक्ति हुन्। यसअघि अपराध अनुसन्धान कार्यालयकै टोलीले २०७३ पुस १३ गते कलंकीबाट सात किलो सुनसहित लामालाई पक्राउ गरेको थियो। त्यतिबेला रसुवाबाट गल्छी हुँदै काठमाडौं आइरहेको बा८च ७४२० नम्बरको गाडीबाट उनलाई पक्राउ गरेको थियो। गाडीको अगाडिको भागमा हुने हावा फिल्टर गर्ने बक्समा उक्त सुन भेटिएको थियो। त्यतिबेला पनि लामा उक्त गाडीको चालक रहेकाले भरिया मात्रै देखिएको प्रहरी अनुसन्धानको निष्कर्ष थियो। त्यसपछि पाँच वर्ष कैद सजाय भुक्तान गरेर उनी २०७८ सालमा मुक्त भएका प्रहरीले जनाएको छ। त्यसयता पनि उनी सोही रुटमा नियमित ट्रक चलाउँदै आएको प्रहरीले जनाएको छ। अहिले बरामद ट्रक पनि लामाको आफ्नै भएको देखिएको छ। उनले आमाको नाममा ट्रक दर्ता गरेको पाइएको एसएसपी बस्नेतले बताए।साभार : नादप












