काठमाडौं – जनमत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) एकीकरणका लागि सहमति नजिक पुगेका छन् । पार्टीको नाम, अध्यक्ष, चुनाव चिह्न लगायतमा दुवै पक्ष सहमतिउन्मुख रहेको दुवै दलले जानकारी दिएका छन् । एकतापछिको पार्टी अध्यक्ष डा. सीके राउत, सह–अध्यक्ष रञ्जिता श्रेष्ठ हुनेगरी छलफल भएको छ । साथै, दुई अध्यक्ष राखेर पहिलो वरियतामा राउत र दोस्रोमा श्रेष्ठलाई राख्ने विकल्पमा पनि छलफल भएको छ । पार्टीको संरक्षकमा नाउपाका संरक्षक रेशम चौधरी रहने छन् । चौधरी अहिले पनि नाउपाका संरक्षक हुन् । नाउपाले एकीकृत पार्टीको नाम ‘नागरिक जनमत पार्टी’ राख्न प्रस्ताव गरेको र त्यसलाई सकरात्मक रूपमा लिएको जनमतका प्रवक्ता एवं एकताका लागि गठन गरिएको कार्यदलका सदस्य शरदसिंह यादवले जानकारी दिए । एकीकृत पार्टीले नाउपाको ‘ढकिया’ लाई चुनाव चिह्न बनाउने गरी छलफल अगाडि बढाएका छन् । जनमतको चुनाव चिह्न ‘हर्न’ हो । एकताका लागि नाउपाले बनाएको कार्यदलका संयोजक गंगाराम चौधरीले दुवै पक्षका प्रस्तावमा छलफल गरेर छिट्टै सहमतिमा पुगिने जानकारी गराए ।
दूरी घटाउँदै, मन मिलाउँदै:
दुई दलको एकता प्रक्रिया लगभग अन्तिम चरणतिर पुगेपछि नाउपा केन्द्रीय समिति बैठकको समापनमा जनमतका अध्यक्ष राउतलाई शनिबार डाकिएको थियो । राउतले उक्त सत्रलाई सम्बोधन गर्दै आफू अमेरिकाबाट फर्कनुको कारण कञ्चनपुरमा थारु समुदायले पाएको दुःख पनि एउटा कारण रहेको बताए । म अमेरिकाबाट फर्कन कञ्चनपुरमा थारु समुदायले पाएको दुःखले पनि कारण बनेको थियो,’ नाउपा पंक्तिसँग नजिक बन्ने प्रयासमा उनले भने । नाउपा थारु बाहुल्य पार्टी हो । अमेरिकाबाट नेपाल आउँदा गरेको पूर्व–पश्चिम यात्राको क्रममा कञ्चनपुरमा विस्थापित थारुका कारण विक्षिप्त भएको राउतले सुनाए । त्यहाँका थारु समुदायका महिलाहरू रोएर आफूसँग बिन्ति गरेकैले समाजप्रतिको दायित्व सम्झेर अमेरिकाबाट फर्कने निधो गरेको उनले जिकिर गरे । सम्बोधनको क्रममा उनले २०७९ सालमा एकताको प्रयास भएपनि टुंगाउन नसकिएको स्मरण गरे । राउतले त्यतिबेला मिलेर जाऔं भनेर कुराहरू भएको तर त्यसबेला मिल्न नसक्दा त्रुटी भएकोमा स्वीकारे । त्यो बेला मिलेको भए सिट बढ्ने र निर्णायक शक्तिका रूपमा आउनसक्ने अवस्था रहेको उल्लेख गर्दै उनले एकता प्रक्रिया एकदम सकारात्मक रहेको सुनाए । राउतले भने, ‘मिल्न नदिन अनेक षड्यन्त्र हुनसक्छन्, भइरहेका छन् ।
प्राथमिकतामा पहिचानको मुद्दा:
गत निर्वाचनमा दुवै दलले पहिलोपटक प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । जनमतको मुख्य आधार क्षेत्र मधेस र नाउपाको सुदूरपश्चिम रहेको छ । प्रतिनिधि सभामा जनमतका ६ र नाउपाका ४ सांसद छन् । १३ सिट सहित जनमत मधेस प्रदेश सभामा तेस्रो शक्ति बनेको छ । नाउपाबाट प्रदेश सांसद १२ जना छन् । पार्टी एकीकरण गर्नुको अर्थ एकमा अर्को मिसाउन कार्य नहुने बताउँछन् नाउपाका संरक्षक चौधरी । दुई दलको एकतापछि प्रतिपक्ष बेञ्चमा बस्न पनि तयार हुनुपर्ने प्रस्ताव उनले राउतसँग राखेका छन् । यी दुवै दलले सरकारलाई समर्थन दिएका छन् । कांग्रेस–एमालेको समर्थनमा जनमतले मधेसमा सरकारको नेतृत्व गरेको छ भने नाउपाबाट केन्द्रमा राज्यमन्त्री छन् । नाउपाबाट अरुण चौधरी पर्यटन राज्यमन्त्री छन् । पहिचानवादीहरूको मुद्दालाई बलियो बनाउन दुई दलले एकता गर्नुपर्ने अवस्था बनेको जनमतका प्रवक्ता यादव बताउँछन् । थारु र मधेसीका आ–आफ्ना समस्याहरू छन् । यी शक्तिलाई एक ठाउँमा राखेर ठूलो शक्ति निर्माण गर्नुपर्ने आवश्यकता छ,’ यादवले अनलाइनखबसँग भने, ‘राज्यसत्तासँग सशक्त रूपमा माग राख्न थप बलको आवश्यकता छ । एकता आफ्नो अधिकारको माग उठाउनकै लागि हो ।साभार : अखप