छिन भरमै खण्डहर भयो सरकारी संस्था…..

काठमाडौं –     ‘सञ्चो’ प्याकिङ गरेर राखिएको स्टोरबाट पुतपुत धुँवा आइरहेको छ । कर्मचारी जारको पानीले आगो निभाउने कोसिस गरिरहेका छन् । हजारौं प्याकेटमा भित्रभित्रै सल्किरहेको आगो निभाउन दुई/चार लिटर पानीले कहाँ सम्भव हुन्थ्यो र ! जडीबुटी कम्पनीमा परिसरमा भेटिएका हरिप्रसाद चौलागाईंले भने, ‘उग्रवादीले पानीको ट्यांकीसमेत बाँकी राखेनन् । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड परिसरमा सिसाको टुक्रा यत्रतत्र छरिएका छन् । बस्न योग्य कुनै कोठा छैन । परिसरमा रहेका एक दर्जन बढी गाडी र मोटरसाइकलको अस्थिरपञ्चर मात्रै छ । आइतबार बिहान कार्यालय परिसर पुग्दा कर्मचारीहरु निरास देखिन्थे । उनीहरु कम्पनीले वर्षौंदेखि दिइरहेको रोजीरोटी अब के हुन्छ भन्ने चिन्ता प्रकट गरिरहेका थिए । परिसरमै भेटिएकी कम्पनीकी महाप्रबन्धक संगीता यादवले गहभरि आँसु पार्दै भनिन्, ‘मसँग बोल्ने शब्द नै छैन । तपाईं-हामीले वर्षौंको अथक परिश्रमले बनाएको कम्पनी निमेषमै खण्डहर भयो । शुक्रबार तीनकुनेमा राजावादीको आन्दोलन थियो । आन्दोलनले हिसांत्मक रुप लिएपछि जडिबुटी कम्पनी पनि अछुतो रहेन । दिउँसो करिब ३ बजे जडिबुटी चोकमा प्रदर्शनकारीको नाराबाजी सुरु भयो । मूल सडकमा जोडिएको जडिबुटी उत्पादन कम्पनीका कर्मचारी सातै प्रदेशमा शाखा विस्तार गर्ने योजनाबारे छलफल गर्दै थिए । केहीबेरमा सयौंको भीडबाट निस्किएर केही प्रर्दशनकारीले सिसा भएको भवनमा अन्धाधुन्ध ढुंगा हान्न थाले । कर्मचारी ज्यान जोगाउन कुनाको कोठामा जम्मा भए । भिड रोकिएन । २७ वर्षदेखि सवारी चालकको जिम्मेवारीमा रहेका हरिप्रसाद चौलागाईंका अनुसार ५-६ जनाको समूह गेटमा लगाएको चाबी फुटाएर ढुंगामुढा गर्दै भित्र पस्यो । अनि, एक-एक गर्दै गाडीमा आगो लगाउन थाले । भिड आक्रोशित हुँदै भवनमा आगो लगाउने तयारी गर्न थाल्यो । कर्मचारी पछाडिको झ्यालबाट भाग्न थाले । ‘सयौंको भिड भवनतिर आउन थालेपछि हामी झ्यालबाट हाम फालेर निस्कियौं,’ कहालिलाग्दो क्षणको वर्णन गर्दै महाप्रबन्धक यादवले भनिन्, ‘तर भिडले अपशब्द बोल्दै लखेट्न थाल्यो । भागेर ज्यान जोगायौं ।हेर्दाहेर्दै कम्पनीमा भएका सबै गाडी जले, भवनमा आगो दन्किन थाल्यो । केही घन्टापछि मात्रै प्रहरी घटनास्थलमा आइपुग्यो । र, घन्टौंको प्रयासपछि दमकलको सहायताले आगो निभायो । एक जना सेवाग्राहीको टाउकोमा चोट लाग्यो । आँखै अगाडि अफिसमा दनदनी आगो बल्दा मुटु पोलेर आयो,’ महाप्रबन्धक यादवले भनिन्, ‘आफ्नै खुट्टामा उभिएको एक सरकारी संस्था खरानी बन्यो । महाप्रबन्धक यादवका अनुसार के-कति क्षति भयो भन्ने अभिलेखीकरण भइरहेको छ । बल्ल-तल्ल काचुँली फेर्न लागेको सरकारी संस्था राजा चाहियो भनेर गरिएको आन्दोलनले नराम्रोसँग थला परेको छ । कम्पनीमा केही बाँकी छैन । २०३८ सालमा बनेको बलियो भवन यस्तो अवस्थामा पुग्यो,’ यादव भन्छिन्, ‘हजारभन्दा बढी श्रमिकको रोजीरोटी खोसिएको छ । योभन्दा ठूलो अपराध अरु के हुनसक्छ ।’

काचुँली फेर्दै थियो कम्पनी:

सरकारी स्वामित्वमा रहेको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी २०३८ सालमा स्थापना भएको हो । स्थापना भएको १८ वर्षपछि २०५६ सालदेखि सञ्चो उत्पादन भइरहेको छ । सञ्चो जस्तै प्रोडक्ट उत्पादन गर्ने निजी कम्पनी पनि छन् । तर जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीसँग प्रतिस्पर्धा गर्न सकेका छैनन् । कम्पनीले अहिले सञ्चो, सञ्चो बाम (भिक्स), सञ्चो शिलाजित, हिमालय मसाज तेल, बाम तेल, सञ्चो जटा केश तेल, सञ्चो पेन रिलिफ आयल उत्पादन गर्दै आएको छ । तीमध्ये सञ्चो जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी टिकाउने प्रमुख उत्पादन हो । २०८१ सालदेखि आधुनिक स्वचालित प्रविधिमा सञ्चोको उत्पादन हुन थालेको छ। कम्पनीले गुड म्यान्युफ्याक्चरिङ प्राक्टिस (जीएमपी) मापदण्डको लाइसेन्स प्राप्त गरिसकेको छ । अहिले नयाँ प्याकमा ५ र १० मिलिलिटर आएसँगै सञ्चोको आकर्षण झन् बढ्दै गएको छ । ‘देशभर शाखा विस्तार गर्ने र नयाँ प्रोडक्ट निकालिरहेका थियौं । सञ्चोको उत्पादनलाई मेसिनबाट प्याकिङ गरेर बजारमा पठाइरहेका थियौं,’ यादव भन्छिन्, ‘ विश्वस्तरमै सबै पोडक्ट निर्यात गर्ने अवस्था पुगेका थियौं । महाप्रबन्धक यादवका अनुसार प्याकिङ गरेर राखिएको सञ्चोको हजारभन्दा प्याकेट, सञ्चो प्याकिङ गर्ने मेसिन, तयारी बनाउन राखिएका सामग्री सबै नष्ट भएका छन् । केही महिना अगाडि करोडौं लगाएर जोडिएको मेसिन पूरै ध्वस्त भएको छ । अब यही स्तरमा पुर्याउन धेरै कठिन छ,’ उनी भन्छिन् । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कम्पनी ऐनअन्तर्गत चलेको कम्पनी हो । यो आफैँ कमाउने, आफैँ सञ्चालन हुने संस्था हो । प्रोडक्ट बेचेर आएको पैसाले हजारौं श्रमिकको परिवार पालिएको छ,’ यादव भन्छिन्, ‘अब हजारौं श्रमिकको बिचल्ली हुने भयो । कम्पनीमा केही स्याथी, केही मासिक करार र केही ज्यालादारी कर्मचारी छन् । कम्पनीमा ४ सयभन्दा बढी कर्मचारी मासिक करारमा काम गरिरहेका छन् । कम्पनीमा ७० प्रतिशतभन्दा बढी महिला कर्मचारी कार्यरत छन् । यहीँ काम गरेर छोराछोरी पढाउनेदेखि घरखर्च चलाएको थिएँ । भोलिबाट के खाएर बाँच्नु, ‘परिसरमा भेटिएकी गोपिनी दंगालले पीडा पोखिन्, ‘उत्पादन बेचेर तलब खाने गरेका थियौं । सरकारले सहुलियत दिएर यो संस्थालाई पुन: जीवित बनाओस् । महाप्रबन्धक यादवका अनुसार जडीबुटी उत्पादन कम्पनीको सञ्चो विदेशी उपभोक्ताले पनि अत्यधिक रुचाउने गरेका छन् । ‘सञ्चो तेल’ विगत १५ वर्षदेखि स्विडेनमा निर्यात हुँदै आइरहेको छ । सञ्चो तेल प्रत्येक वर्ष सरदर ५० केजी विदेश निर्यात भइरहेको यादवले बताइन् ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार