वायु प्रदूषणले खतराको तह नाघ्यो, बढे बिरामी…..

काठमाडौं –     मंगलबार बिहानैदेखि काठमाडौँको आकाश धुम्म थियो । तुवाँलोले घाम छर्लंग देखिएको थिएन । भक्तपुरका नवराज कोइराला बानेश्वर अफिस जान घरबाट निस्किए । सानोथिमी आइपुग्दा उनको आँखा अलिअलि पिरो भयो । कोइरालाले अनलाइनखबसँग भने, ‘कोटेश्वर आइपुग्दा त आँखै हेर्न सकिएन । बाइक रोकेर मुख धुनुपर्‍यो ।’ कंलकी सीता थापा बिहानै तरकारी लिन कालीमाटी पुगेकी थिइन् । तर अत्यधिक आँखा पोलेपछि उनी तुरुन्तै घर फर्किन् । ‘कालिमाटीमा मात्रै होइन रहेछ, सबैतिर उस्तै रहेछ । घर पुग्दा त घाँटी खसखसायो, खोक्दा कालो खकार आयो,’ उनले अनलाइनखबरसँग समस्या सुनाइन्, ‘बिहान त श्वास फर्नै गाह्रो भएको महसुस भयो । पछिल्ला केही दिनमा उपत्यकाको वायु प्रदूषण अत्यधिक बढेको छ, जसका कारण आँखा पिरो हुने, खाँटी खसखसाउने, श्वास फेर्न गाह्रो हुने जस्ता समस्या देखिएको छ । केही सातायता आँखाले प्रष्ट देखिने र शरीरले महसुस गर्ने गरी वायु प्रदूषण बढेको छ । वातावरण विभागका अनुसार काठमाडौंको वायु प्रदूषण निकै अस्वस्थकरको तहमा पुगेको छ । काठमाडौं सोमबार र मंगलबार लगातार संसारकै प्रदूषित शहर बनेको थियो । बुधबार झन् वायु प्रदूषण बढेको छ । काठमाडौं दोस्रो प्रदूषित शहर बनेको छ । आईक्यूएयरको तथ्यांकअनुसार मंगलबार बिहान काठमाडौंको औसत एयर क्वालिटी इन्डेक्स (एक्युआई) रौंभन्दा तीन गुणा मसिना धुलो धुवाँका कण प्रतिघण्टा २६८ माइक्रोग्राम प्रतिघनमिटर मापन गरिएको छ । मंगलबार २२५ मापन भएको थियो । जबकि, १०१ देखि १५० लाई नै संवेशनशील समूहका लागि अस्वस्थ मानिन्छ । १५१ देखि २०० सम्मलाई अस्वस्थ, २०१ देखि ३०० सम्मलाई निकै अस्वस्थ र ३०१ भन्दा माथि मापन भए खतरनाक तहमा पुगेको मानिन्छ । एक हप्तायता धेरै मानिस आँखा पोल्ने, घाँटी खसखसाउने, टाउको दुख्ने र रुघाखोकीको लक्षण लिएर अस्पताल पुगिरहेका छन् । धुवाँधुलोका कारण कतिपय दीर्घरोगी त भेन्टिलेटरमै राखेर उपचार गर्नुपर्ने अवस्थामा पुगेको चिकित्सकहरु बताउँछन् । छाती तथा सघन उपचार रोग विशेषज्ञ डा. राजु पंगेनीका अनुसार पछिल्ला दिनमा श्वासप्रश्वाससँग सम्बन्धित बिरामी अत्यधिक बढेका छन् । उनका अनुसार बहिरंग सेवामा दैनिक सेवा लिन आउने बिरामीमध्ये आधाभन्दा बढी वायु प्रदूषणबाट निम्तिएको समस्याले अस्पताल पुगेका छन् । डा पंगेनीका अनुसार उनले हेरेका बिरामीमध्ये ५० प्रतिशत श्वास फेर्न गाह्रो हुने, नाक बन्द हुने, घाँटी खसखस गर्ने, खोकी लाग्ने, कफ आउने लगायतका समस्या लिएर आउने बिरामी धेरै छन् । भाइरल इन्फ्लुएन्जा हुँदा हप्ता दिनमै रुघाज्वरो निको हुने गरेको छ । तर वायु प्रदूषणले तीन/चार हप्तासम्म पनि निरन्तर खोकी लागिरहने, घाँटी खसखस भइराख्ने र नाक बन्दको समस्या लिएर बिरामी आएका छन्,’ डा. पंगेनीले भने । चिकित्सकका अनुसार ओपीडीमा मात्रै होइन, आकस्मिक तथा आईसीयूमा पनि बिरामीको चाप बढ्दो छ । कतिपयमा अक्सिजन कम हुने, निमोनिया देखिने, श्वास फेर्न गाह्रो भएर भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्था छ,’ उनले भने । वायु प्रदूषणको असर दीर्घरोगी वा ज्येष्ठ नागरिकमा मात्रै देखिएको छैन । वायु प्रदूषणको असरस्वस्थ व्यक्तिमा देखिएको पंगेनी बताउँछन् । वायु प्रदूषणको असरका कारण रुघाखोकी लागेर आएका बिरामीमा औषधिले समेत काम नगर्ने अवस्था बनेको चिकित्सक बताउँछन् । पाँच वर्षभन्दा मुनिका बालबालिका, ६५ वर्ष नाघेका वृद्धवृद्धा, दम, एलर्जी, दीर्घरोगी जोकोहीलाई पनि वायु प्रदूषणले असर गर्नसक्छ । सँगसँगै प्रदूषणका कारण खोक्नसक्ने क्षमता कम हुन्छ । वृद्धवृद्धालाई खोकेर खकार निकाल्न नसक्ने समेत अवस्थामा पुर्‍याउँछ ।

वायु प्रदूषणले खतराको तह नाघ्यो:वायु प्रदूषण कम गर्ने दीर्घकालीन उपाय खोज्न आग्रह – Online Khabar

काठमाडौंमा वायु प्रदूषण अचानक बढेको होइन । प्रदूषणका कणहरू एक/दुई दिनयता आकाशमा जम्मा भएका पनि होइनन् । काठमाडौंको हावामा जंगलमा लागेको डढेलोको धुवाँ पनि मिसिइरहेको छ । डढेलो विज्ञ सुन्दरप्रसाद शर्माका अनुसार वायु प्रदूषण बढ्नुमा डढेलोको धुवाँको ८० प्रतिशतभन्दा धेरै योगदान छ । उनका अनुसार हरेक वर्ष वैशाखको दोस्रो हप्ता डढेलो धेरै लाग्छ । त्यसपछि बिस्तारै घट्दै जान्छ । तर, चैतको तेस्रो सातामा देशभरका यस्तो अवस्था देखिनुले केही हप्तापछि झन् भयावह अवस्था बन्ने विज्ञको चेतावनी छ । शर्माका अनुसार अहिले ३ सयभन्दा धेरै ठाउँमा डढेलो फैलिरहेको छ । पर्सा, चितवन, मकानपुर, सिन्धुली, उदयपुरका जिल्ला अति प्रभावित छन् । डढेलोको धुवाँले मानव स्वास्थ्यमा ठूलो असर पारिरहेको छ,’ शर्मा भन्छन्, ‘काठमाडौंमा मात्रै होइन, हिमालमा समेत धुवाँ तैरिएर बसेको देखिन्छ । जसले हिँउ पगाल्ने कामसमेत गरेको छ । गाडी, इँटाभट्टाबाट निस्कने धुवाँ र धुलोको कणले समेत प्रदूषण भइरहेको उनले बताए । ‘काठमाडौं मात्रै होइन, देशभर नै वायु प्रदूषण बढेको छ । पानी नपरी आकाशमा जम्मा भएको धुलो र धुवाँ बाहिर निस्किन पाउँदैन,’ शर्माले अनलाइनखबरसँग भने, ‘केही दिनसम्म यस्तै धुम्म रहिरहन्छ । वायु प्रदूषण कम गर्ने दीर्घकालीन उपाय खोज्न आग्रह,  अहिले नेपालका धेरै स्थानमा वायुमण्डल स्थिर अवस्थामा छ । हावा चलिरहेको छैन र यहाँको धुवाँ धुलो अन्यत्र फैलिन पाएको छैन, वायुमण्डलमा नै तैरिरहेका हुन्छन् ।‘लामो समयदेखि पानी नपरेका कारणले वायुमण्डल सुख्खा छ । यस्तो अवस्थामा धुलोका कणहरु अत्यधिक हुन्छन् ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार