ओली-मोदी गोप्य वार्ताको नतिजा…..

काठमाडौं –    बैंककमा सम्पन्न बिम्स्टेक छैटौं शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग गरेको वान अन वान भेटवार्ता अहिले मुख्य चासोको विषय बनेको छ । स्वयं प्रधानमन्त्री ओली र उनी नेतृत्वको नेकपा एमालेका नेताहरुले त्यो भेटवार्तालाई ठुलै उपलब्धि भनिरहेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालबाटै त्यो भेटवार्ता आत्मीय, सौहार्द र सार्थक बनेको निष्कर्ष प्रस्तुत गरेका छन् । मेरा प्रिय मित्र, भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीसँग आज बैंककमा आत्मीय र सौहार्दपूर्ण संवाद भयो । हाम्रो सम्वाद अत्यन्त सार्थक रह्यो’ ओलीले सामाजिक सञ्जालमा लेखेका छन् । प्रधानमन्त्री ओलीकै जस्तो भाषामा समकक्षी मोदीले पनि सामाजिक सञ्जालमा प्रतिक्रिया जनाएका थिए । ‘बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो । भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको छ’ मोदीले लेखे, ‘हामीले भारत–नेपाल मित्रताका विभिन्न पक्षहरु विशेषगरी उर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधि जस्ता क्षेत्रहरुमा छलफल गर्यौं ।’ स्वदेश फर्किएपछि पनि प्रधानमन्त्री ओलीले भेटवार्ता सुमधुर र हार्दिकताका साथ भएको प्रतिक्रिया दिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग ओलीले भने, ‘भेट अत्यन्तै राम्रो भयो, अत्यन्तै सुमधुर बातावरणमा, अत्यन्तै मित्रता हार्दिकताका साथ । एमाले महासचिव शंकर पोखरेलले ओली–मोदीको त्यो गोप्य भेटवार्तालाई ठुलै सफलताका रुपमा प्रचार गरेका छन् । बैंककमा भेटवार्ता सकिनासाथ पोखरेलले लेखे, ‘अस्थिर र विचलित नहुँदा पनि सम्बन्धलाई सुधार गर्न सकिन्छ र मित्रतालाई थप मजबुत बनाउन सकिन्छ भन्ने दृष्टान्त हो, नेपाल र भारतका प्रधानमन्त्री बीचको सम्वाद र सम्वाद पछिको दुवै देशका प्रधानमन्त्रीहरुको सकारात्मक र उत्साहप्रद प्रतिक्रिया । यद्यपि प्रधानमन्त्री ओलीले सगरमाथा सम्वादमा मोदी नेपाल आउन नसक्ने जानकारी विमानस्थलबाटै दिए । ‘यसपल्ट सगरमाथा सम्वादमा मोदीजी आउन भ्याउनु हुन्न, यसकारण कि उहाँको पहिले नै त्यसैबेला यूरोप जाने कार्यक्रम तय भइसकेको रहेछ’ प्रधानमन्त्री ओलीले भनेका छन् । सरकारको तयारी भने सगरमाथा सम्वादमा मोदीलाई ल्याउने थियो । जसका निम्ति परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले पहलकदमी लिइरहेकी थिइन् ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार