पूर्वराजा ज्ञानेन्द्रको मौनता तोडाउने प्रयास…..

काठमाडौँ –     यही चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका विषयमा पूर्वराजा ज्ञानेन्द्र शाह मौन छन् । उनको मौनतालाई लिएर सडक र संसद् दुवैतिर प्रश्न उठेको छ । तथापि, उनी बोलिरहेका छैनन् । नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीका अनुसार पूर्वराजा ज्ञानेन्द्रको मौनताले आशंका जन्माएको छ । दुईजनाको ज्यान गएको उक्त घटनाप्रति ज्ञानेन्द्र शाहले न समवेदना प्रकट गरे न घटनाको निन्दा,’ सांसद घर्ती भन्छन्, ‘त्यस दिनको आन्दोलनमै सरिक जनताले समेत उनीबाट जवाफ खोजेका छन् । राजतन्त्र पक्षधरले गत चैत १५ गते तीनकुनेमा प्रदर्शन गरेका थिए । त्यस क्रममा गोली लागेर प्रदर्शनकारी सविन महर्जनको मृत्यु भएको थियो । प्रदर्शनकारीले गरेको आगजनीमा परेर पत्रकार सुरेश रजकको ज्यान गएको थियो । माओवादी सांसद घर्ती भन्छन्,’ ‘फागुन ७ गतेको अभिव्यक्तिले पूर्वराजा ज्ञानेन्द्रलाई तीनकुने घटनाप्रति जवाफदेही बनाउँछ । प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले ‘राजगद्दी त्यागेको विषयलाई कमजोरी नठान्न दलहरूलाई चेतावनी दिएका थिए । शुभकामना सन्देशमार्फत पूर्वराजा ज्ञानेन्द्रले भनेका थिए, ‘अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशबासीलाई आह्वान गर्दछौं ।

हाम्रो त्यागलाई कमजोरी नठानियोस्:

यस्तो आह्वानबाट उत्साहित राजतन्त्र पक्षधरले गत फागुन २५ गते पोखराबाट काठमाडौं आएका बेला ज्ञानेन्द्र शाहको स्वागतमा त्रिभुवन विमानस्थलबाहिर र्‍याली निकालेका थिए । उक्त र्‍यालीको सहभागितापछि थप उत्साहित हुँदै राजतन्त्र पक्षधरहरू आन्दोलनका थप कार्यक्रम घोषणा गर्दै अघि बढे । त्यस क्रममा ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ बनाइयो । संयोजक तोकिए– ८६ वर्षीय नवराज सुवेदी । सुवेदी नेतृत्वको समितिले चैत १५ गते तीनकुनेमा प्रदर्शन राख्यो । प्रदर्शनका कमान्डर तोकिएका थिए– दुर्गा प्रसाईं । प्रदर्शन हिंसात्मक भएपछि सुवेदी नजरबन्दमा छन् । प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । यो पृष्ठभूमिमा तीनकुनेको गतिविधिमा पूर्वराजा ज्ञानेन्द्रमाथि सोधपुछ र अनुसन्धान हुनुपर्ने तर्क सांसदहरूले राखेका हुन् । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिमा गृहमन्त्री रमेश लेखकसहित मन्त्रालय र सुरक्षा निकायका अधिकारीहरूसँग छलफल थियो । सिंहदरबारस्थित समितिको सभाकक्षमा भएको छलफलमा सहभागी अधिकांश सांसदले मौन रहेकै कारण पूर्वराजा ज्ञानेन्द्रले छुट पाउन नहुने भनेर सरकारलाई खबरदारी गरे । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार पूर्वराजा ज्ञानेन्द्र प्रश्नबाहिर रहन सक्दैनन् । उनी भन्छन्, ‘त्यो घटनाको अनुसन्धान प्रक्रियामा कहीँ न कहीँ पूर्वराजालाई प्रश्नको दायरामा, जवाफदेहिताको दायरामा ल्याउनुपर्छ । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका सांसद रामकुमार राईका अनुसार पूर्वराजा ज्ञानेन्द्रलाई अनुसन्धान बाहिरै राखेर तीनकुने घटनाबारे यथार्थमा पुग्न सकिँदैन । यसतर्फ ख्याल गर्न सरकारलाई सुझाव दिँदै उनी भन्छन्, ‘त्यो राजावादी आन्दोलन हो भने पूर्वराजा ज्ञानेन्द्रलाई स्पष्टीकरण सोध्नुपर्छ । आन्दोलन गर्नेले सही र गलत दुवैको अपनत्व र जिम्मेवारी लिनुपर्ने उनको आग्रह छ । अन्यथा, अराजकताको जिम्मा कसैले नलिने र दण्डहिनता मौलाएर जानसक्ने उनको चिन्ता छ । राई अगाडि थप्छन्, ‘कि भीड कन्ट्रोल गर्नुपर्‍यो कि अराजकताको जिम्मा लिनुपर्‍यो । नत्र कुरा मिलेन । सत्तारुढ दल कांग्रेस सांसद जीवन परियार त संसदमै बोलाएर पूर्वराजा ज्ञानेन्द्रसँग सोधपुछ गर्नुपर्ने पक्षमा छन् । ‘पूर्वराजा ज्ञानेन्द्रलाई संसदीय समितिमै बोलाएर भए पनि घटनाबारे सोधपुछ गरौं,’ उनले भने । कानुन, न्याय तथा मानव अधिकार समितिमा गृहमन्त्री रमेश लेखक, सभापति बिमला सुवेदी लगायत पूर्वराजा ज्ञानेन्द्र आम नागरिकसरह रहेको उल्लेख गर्दै उनले अगाडि भनेका छन्, ‘उनलाई पनि नागरिकलाई जति अधिकार हो त्यति अधिकार छ । लोकतन्त्रमाथि धावा बोल्ने र अराजकता मच्चाउने अधिकार कसैलाई छैन ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार