विराटनगर – मोरङको केराबारी–९ बाट लेटाङ जाने मदन भण्डारी राजमार्गअन्तर्गत भलुवा खोलामा पुल बनेको छ । निर्माण सम्पन्न भइसक्न लागेको पुलसम्म पुग्ने बाटो भने छैन । पुलको पूर्वतर्फ भीर छ भने पश्चिमतर्फ हिँडेर मात्र जान मिल्ने गोरेटो । २०७७ साल जेठमा निर्माण सुरु भएको यो पुलको ८८ प्रतिशत काम सम्पन्न भइसकेको छ । कुल ४३ करोड ६७ लाख १५ हजार लागतमा निर्माण सम्झौता भएको पुलका लागि हालसम्म झण्डै ८३ प्रतिशत अर्थात् ३६ करोड १० लाख ४१ हजार रुपैयाँ भुक्तानी भइसकेको छ । मदन भण्डारी राजमार्गअन्तर्गत झापा, मोरङ र सुनसरी क्षेत्रमा बाटोको ट्र्याकविना नै यस्ता खालका ९ वटा पुल निर्माण भएका छन् ।तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा आर्थिक वर्ष २०७६/७७ सालबाट मदन भण्डारी राजमार्गको निर्माण कार्य सुरु भएको हो ।
राजमार्ग योजना कार्यालय दमकले दिएको जानकारीअनुसार तीन जिल्लामा ३७ वटा पुलको ठेक्का व्यवस्थापनमध्ये २२ वटा निर्माण भइसकेका छन् । निर्माण हुन बाँकी १५ मध्ये ९ वटा पुलको एप्रोच सडकमा वन क्षेत्र भएको कारण एप्रोच सडकबाहेक अन्य कार्य सम्पन्न भइसकेको छ,’ आयोजना कार्यालय दमकका सूचना अधिकारी इन्जिनियर सुवास कुमार दत्तले भने, ‘बाँकी ६ वटा पुलको स्ट्रक्चरको कार्यका साथै अन्य निर्माण काम सम्पन्न हुन बाँकी छ ।’ वन क्षेत्रमा पर्ने ती पुलहरूमा सडक जोड्न रूख कटान हुनुपर्ने उनले बताए ।
झापाको पतापुरदेखि सुनसरीको सार्दुखोलासम्म १२७.८ किलोमिटर लामो मदन भण्डारी राजमार्गको हाल ९५.८ किलोमिटर ठेक्का लागेको छ । कमल खोलादेखि सहादतस्थलसम्म ३२ किलोमिटर भने अझै ठेक्का लाग्न बाँकी छ । यस्तै चतरादेखि सार्दु खोलासम्म ६ किलोमिटर सडक भने ठेक्का प्रक्रियामा रहेको आयोजनाको कार्यालयले जनाएको छ । ७ वटा ठेक्कामध्ये एक किलोमिटर लामो मेची डाँडादेखि पतापुरसम्म भने कालोपत्र भइसकेको छ । अन्य ६ वटा ठेक्का अहिले पनि चालु अवस्थामा छन् । ठेक्का व्यवस्थापन भएको ९५.८ किलोमिटर सडकमध्ये हालसम्म ४२.६८ किलोमिटर कालोपत्र सडक निर्माण सम्पन्न भएको छ । सडक र पुल गरेर तीन जिल्लामा ८२ प्रतिशत भौतिक प्रगति रहेको सूचना अधिकारी दत्तले बताए । १० अर्ब १३ करोड ठेक्का सम्झौता भएकोमा हालसम्म ७ अर्ब ९५ करोड खर्च भइसकेको कार्यालयले जनाएको छ । अब २ अर्ब १८ करोड दायित्व बाँकी रहेको कार्यालयले जनाएको छ । तर, चालु आर्थिक वर्षमा उक्त आयोजनाका लागि ९१ करोड बजेट विनियोजन भएको छ ।साभार : रापा