बर्माको विपद्‌मा नेपालको साथ…..

काठमाडौं –     लामो आन्तरिक द्वन्द्वबाट गुज्रिएको दक्षिण पूर्वी एसियाली मुलुक म्यानमारको स्वास्थ्य प्रणाली सैनिक शासन लागू हुनुअगावै संकटमा थियो । चार वर्षअघि भएको सैन्य ‘कू’पछि थप चर्किएको आन्तरिक युद्धका कारण कयौं अस्पतालहरू बन्द भए, औषधि आपूर्तिमा अवरोध भयो । यस्तो स्थितिमा पाँच महिनाअघि संयुक्त राष्ट्रसंघले समेत म्यानमारको ‘स्वास्थ्य प्रणाली ध्वस्त भइसकेको’ भन्दै प्रतिवेदन सार्वजनिक गर्‍यो, जसमा एक करोड २९ लाख मानिसहरूलाई स्वास्थ्य सहायता आवश्यक रहेको उल्लेख थियो । पहिल्यै संकटमा रहेको स्वास्थ्य प्रणालीलाई दुई साताअघि गएको ७.७ म्याग्निच्युडको भूकम्पले थप जर्जर बनायो । प्रकोपग्रस्त राजधानी नेपिताउबाट विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) की उपप्रतिनिधि एलेना भुओओले भनेकी छन्, ‘म्यानमारमा आपतकालभित्र अर्को आपतकाल आइपरेको छ । अहिले म्यानमारको स्वास्थ्य प्रणाली कुन परिस्थितिबाट गुज्रिरहेको छ भन्ने थाहा पाउन नेपाली सेनाको स्वास्थ्य टिमले त्यहाँ कसरी काम गर्‍यो भन्ने हेरे पनि पुग्छ । मन्त्रिपरिषद्को निर्णय बमोजिम भूकम्पपीडितको उपचारका लागि २० चैतमा प्रमुख सेनानी रामचन्द्र श्रेष्ठ नेतृत्वको २२ सदस्यीय नेपाली टोली म्यानमार पुगेको थियो । तर, यो टोलीमा सहभागी चिकित्सकहरूले भूकम्पपीडितका मात्र उपचार गरेनन्, लामो समयदेखि गम्भीर प्रकृतिका रोगबाट गुज्रिएका बिरामीको समेत उपचार गरे । कतिसम्म भयो भने नेपाली टोलीले स्वदेश फर्किने दिन समेत एक महिलाको स्तन क्यान्सरको शल्यक्रिया गर्‍यो । फर्किने दिन उहाँहरूले निकै अनुरोध गर्नु भएपछि ४६ वर्षीया बिरामीको शल्यक्रिया गरेको थिएँ’, वीरेन्द्र सैनिक अस्पतालका जनरल सर्जन डा. विकास रायमाझी सम्झन्छन्, ‘खासमा त्यो नेपाली सेनाप्रतिको विश्वास र भरोसा पनि थियो । प्राविधिक प्रमुख सेनानी रायमाझीसहित नेपाली टोली २९ चैत दिउँसो १२ बजे स्वदेश फर्किँदै थियो । म्यानमार छाड्नुअघि अन्तिम पटक उनी बिहान साढे ८ बजे यामेथिन डिस्ट्रिक्ट जनरल अस्पतालमा पुगेका थिए । ‘तर, चिकित्सकहरूले अन्तिम समयमा पनि अपरेशन गरिदिन अनुरोध गरे’, रायमाझी भन्छन् । स्वदेश फर्किन लागेको भन्दै उनले आफू उपचारमा सहभागी हुन नसक्ने जानकारी गराए । ‘तर, बिरामी बेहोस भइसकेको भनेपछि मैले नन–ट्रमा उपचार पनि गर्नुपर्‍यो’, उनले अनलाइनखबरसँग सुनाए, ‘एक साताको अवधिमा जम्मा एक हजार ३८७ बिरामीको ओपिडी जाँच गर्‍यौं, तीमध्ये २७ लाइफ सेभिङ सर्जरी थिए । पछिल्ला दिनहरूमा अस्पतालमा आउने धेरैले नेपाली टोलीबाट उपचार गराउने चाहना राख्न थालेका थिए, कतिपयलाई स्थानीय स्वास्थ्यकर्मीले नै नेपाली टोलीसमक्ष पठाइदिन्थे । भूकम्पबाहेकको स्वास्थ्य समस्याको उपचार गर्न गएकामध्ये एक मनेम्थे पनि थिइन्, जसको तीन महिना अघि हड्डी फ्र्याक्चर भएको थियो । ‘उहाँहरूले नियमित व्यायाम गर्नुपर्ने भन्नुभएको छ, औषधि पनि लिएको छु’, उनले भनेकी छन्, ‘सायद परमात्माको चाहनाले नेपाली सेनासँग भेट भयो, फेरि पनि भेट गर्न पाउँ । म्यानमारस्थित नेपाली राजदूत हरिशचन्द्र घिमिरेका अनुसार, नेपाली सेनाले उपचार गरेका बिरामीमध्ये ९ जनाको गम्भीर शल्यक्रिया भएको छ । ‘नेपाली टोलीले उपचारमा गरेको सहयोगको यहाँको प्रशासनले एकदमै प्रशंसा गरेको छ’, उनी भन्छन्, ‘टोलीको विदाइमा समेत म्यानमारको संघीय स्वास्थ्य मन्त्री डा. थेट खाइङ आफैं पुग्नु भएको थियो ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार