चितवन- समयमा काम भएको भए तीन वर्षअघि नै नारायणगढ–बुटवल सडकखण्ड चिल्लो भई यात्रा सहज हुन्थ्योे तर कछुवा गतिमा काम हुँदा अहिले पनि यो खण्डको यात्रा कष्टपूर्ण छ। सडक विस्तारका क्रममा भत्काइएका संरचना पुनर्निर्माण नहुँदा यात्रु ६ वर्षदेखि धुलो, हिलो र जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। अहिले दाउन्ने सडकखण्डको १३ किलोमिटर छिचोल्न मात्र घण्टौं लाग्छ। ११ जनाको परिवारसहित लुम्बिनी यात्रामा निस्केका झापाका दीपक निरौला आइतबार दाउन्नेको जाम र हिलोले हैरान देखिन्थे। साँझसम्म लुम्बिनी पुग्ने लक्ष्यसहित होटेल बुकिङ गरेका निरौला समयमै गन्तव्यमा नपुगिने हो कि भन्ने चिन्तामा थिए। ‘दिउँसो तीन बजे दाउन्ने आइपुगेका थियौं। बेलुका साढे ६ बजेसम्म पनि यहाँ नै छौं,’ हिलोमा फसेको बस हेरिरहेका निरौलाले भने, ‘सडकको अवस्था यस्तो छ। यो क्षेत्र छिचोल्न कति समय लाग्ने हो थाहा छैन। दाउन्नेको जाममा मुक्तिनाथ तीर्थ यात्रा गरेर फर्कंदै गरेका दाङका प्याउली केसीसहित ६ जनाको टोली पनि थियो। उनीहरूलाई समयमा घर नपुगिने हो कि भन्ने चिन्ता थियो। ‘जाने समयमा पाल्पा हुँदै गएका थियौं। त्यति समस्या भएन। फर्किने समयमा पोखरा, चितवनको कुरिनटार घुम्दै आउँदा दाउन्नेमा धेरै समस्या भयो। कतिखेर घर पुगिन्छ अझै थाहा छैन। चिप्लो बाटोमा कतिबेला दुर्घटना हुने हो त्रास मात्र छ,’ उनले भनिन्। नारायणगढ–बुटवल सडकखण्डको यात्रा सात वर्षदेखि कष्टकर छ। अन्य स्थानमा केही सहज भए पनि यतिखेर दाउन्ने क्षेत्रको यात्रा निकै सकसपूर्ण रहेको काठमाडौंदेखि भैरहवा हिँडेका कृष्ण भुसालले बताए। ‘दाउन्नेको जाम भनेर बच्चा बच्चालाई थाहा हुन लागिसक्यो। ६ बजे सुनवल पुग्ने लक्ष्य थियो,’ पौने ६ मा दाउन्नेबीच भागमा भेटिएका भुसालले भने, ‘यही गति भए अझै पाँच घण्टा लाग्ला जस्तो छ ।’ जाम भएको ठाउँमा कति चालक गाडीभित्रै सुतिरहेका थिए।साभार : नादप