काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् सुमना श्रेष्ठ खासमा ६ महिनाअघि नै सहमहामन्त्री पदबाट राजीनामा दिन चाहन्थिन् । निकटस्थहरूसँग छलफल गरिसकेकी थिइन्, आगामी महाधिवेशनमा समेत पदाधिकारीमा नलड्ने घोषणा गर्ने तयारी थियो । तर, त्यही बेला पार्टीमा ‘आपत’ आइलाग्यो, संसदीय समितिको प्रतिवेदनको कार्यान्वयन गर्ने निर्णयपछि प्रहरीले २ कात्तिक २०८१ मा सभापति रवि लामिछानेलाई पक्राउ गर्यो । सभापति लामिछानेको बचाउमा सिंगो पार्टी पंक्ति लागेका बेला सुमना पदाधिकारीबाट अलग हुने निर्णय बाहिरिँदा राम्रो सन्देश जान्थेन । यस्तोमा ‘दुई व्यक्ति एक पदमा रहनु हुन्न’ भन्ने आफ्नो वैचारिक मान्यतालाई बुझाउन पनि नसकिने निष्कर्षसहित उनी पछि हटेको एक रास्वपा नेता बताउँछन् । पार्टीको जलेश्वर बैठकबाटै नेतृत्व हस्तान्तरण र ‘एक व्यक्ति, एक पदबारे’ आवाज उठाउन थालेकी सुमना राजीनामा दिने अर्को उपयुक्त अवसरको पर्खाइमा थिइन् । जब लामिछाने १७ चैतमा पार्टी सभापतिको जिम्मेवारीमा फर्किए, त्यसबेला उनले यसबारे छलफल गर्नु उपयुक्त ठानिन् । ‘उहाँ जिम्मेवारीमा आउनुभएपछि हामी एकदम एक्साइटेड थियौं, उहाँले त्यसबेला पार्टी महाधिवेशन तोकिएकै समयमा हुन्छ भन्नु भएको थियो’, सुमना भन्छिन्, ‘त्यस्तोमा एकैव्यक्ति दुई पदमा रहँदा काम गर्न गाह्रो हुन्छ भन्ने हिसाबले उहाँसँग छलफल भएपछि मैले १९ चैतमा राजीनामा दिएँ । राजीनामा स्वीकृतिको प्रक्रिया भने अघि बढिसकेको थिएन । ठ्याक्कै तीन दिनपछि उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सभापति लामिछानेलाई सहकारी ठगीको मुद्दामा थुनामा पठाउने आदेश दियो । यस्तो आदेश आउला भन्ने अपेक्षा नै नभएको भन्दै श्रेष्ठ भन्छिन्, ‘त्यसपछि कार्यवाहक सभापति डीपी अर्यालज्यूलाई त्यो होल्ड गरौं भनेको थिएँ । नेताहरूका अनुसार, अदालतको आदेशपछि फेरि यो विषय सार्वजनिक गर्न उपयुक्त समय नभएको उनले ठानेकी थिइन् । तर, लिखित राजीनामा नै बुझाइसकेकी सुमनाको कदम यसपटक भने लुकेन । बिहीबार पार्टीको केन्द्रीय कमिटी बैठक बस्नु अगाडि नै एकाएक आफ्नो राजीनामाको सूचना चुहाइएको भन्दै उनले असन्तुष्टि जनाएकी छन् । रविजीले पनि पार्टीलाई पुनर्संरचना गर्छु भन्ने विचार अघि सार्नुभएको थियो, त्यो कुरा मेरो नेतृत्व विकासको अवधारणासँग मिलेको हुँदा मैले पदबाट राजीनामा दिएको हुँ’, उनले पार्टी बैठकमा भनेकी छन्, ‘यो कुरालाई कसरी सार्वजनिक गर्ने भन्नेबारे छलफल हुँदै थियो, अचानक उहाँविरुद्ध अदालतको फैसला आयो र नाटकीय रूपमा हिरासतमा लगियो र यो कुरा सार्वजनिक गर्ने योजना पछि सर्यो ।साभार : अखप