काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार आफ्नो बोझ थाम्न नसकेर आफैँ ढल्ने दाबी गरेका छन्। बिचौलियाले चलाएको र राम्रा काम गर्ने कर्मचारीहरूलाई हटाएकाले अब यो सकार केही दिनमै ढल्ने उनले बताए। शुक्रबार (आज) कपिलवस्तुको बहादुरगञ्जमा आयोजित तराई-मधेश हुलाकी जागरण अभियानको सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशमा केही बिचौलियाले चलखेल गर्दा विकास निर्माणका कामहरू अवरुद्ध भएको बताए। प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार भ्रष्टाचारमा डुबेको अध्यक्ष दाहालको आरोप छ। सरकार भ्रष्टाचारीहरूलाई रक्षा गर्नका लागि निर्माण भएको उल्लेख गर्दै उनले भने, ‘कुलमान घिसिङलगायतका व्यक्तित्वहरूलाई हटाएर सरकारले गलत गर्यो। यो सरकार भ्रष्टाचारमा डुबेको छ। आफूले भूमिहीनलाई अधिकार दिन र भ्रष्टाचारीलाई कारबाही गर्न खोज्दा आफनो नेतृत्वको सरकार ढलाइएको पनि बताए। विकास निर्माण र सुशासनका लागि बिचौलियाको हस्तक्षेप रोक्न जरुरी रहेको पनि उनले बताए। अध्यक्ष दाहालले आफू सरकारमा हुँदा भ्रष्टाचारविरुद्ध व्यापक अभियान सञ्चालन गरेको पनि बताए। तर, अहिले भूमाफियाहरूले राज्यको जमिन कब्जा गरी करोडौंको लुटतन्त्र चलाएको आरोप दाहालको छ। किसानहरूको हितमा सरकारले ठोस काम गर्नुपर्ने उल्लेख गर्दै उनले छिमेकी देशहरूसँगको सम्बन्ध सुदृढ गर्नुपर्ने बताए। फरक प्रसङ्गमा अध्यक्ष दाहालले कांग्रेस-एमालेसँग मिलेर आफूहरूले पनि गल्ती गरेको बताए। उनीहरूसँग निकट हुँदा उनीहरूका रोग सरेको उल्लेख गर्दै उनले त्यसको उपचारका लागि आफूहरू जनतामा आएको पनि बताए।साभार : नादप