कांग्रेस र कम्युनिष्टभित्र पनि राजा मन पराउने धेरै छन्…..

काठमाडौँ-      राजावादी आन्दोलन चलिरहँदा नेपाल कम्युनिष्ट पार्टी (माले) का महासचिव चन्द्रप्रकाश (सिपी) मैनाली राजतन्त्रको पक्षमा उभिएका छन्। शनिबार काठमाडौंमा राजावादीले आयोजना गरेको कार्यक्रममा उनले राजतन्त्रको समर्थन गरे। नागरिक विद्रोहले आयोजना गरेको उक्त कार्यक्रममा मैनालीले राजतन्त्रको पक्षमा बोले र राजावादी आन्दोलन सफल हुने दाबी गरे। ‘नेपालमा २००७, २०१७, २०४७ र २०६३ मा चारवटा सफल आन्दोलन भए,’ उनले भने, ‘अब २०८२ मा राजावादीको सफल आन्दोलन हुँदैछ।’ आफू ती आन्दोलनमा सहभागी भएको उल्लेख गर्दै उनले आन्दोलन सफल बनाउन रणनीतिबारे जानकारी दिए। उनले थपे, ‘कांग्रेस र कम्युनिष्टभित्र पनि राजालाई मन पराउने धेरै छन्, तिनको साथ पाउन कांग्रेस र कम्युनिष्टलाई गाली नगर्नुस्, बरु सहयोग माग्नुस्। मैनालीले राजावादीले अघि सारेको पृथ्वीपथ २५० वर्ष पुरानो भएको दाबी गरे। पृथ्वीनारायण शाहले २२-२४ राज्य एकीकरण गरेपछि यो पथ सुरु भएको उनको भनाइ छ। खगेन्द्र सिटौला र भरत वस्नेतले यसबारे पुस्तक लेखेको र आफूले सहयोग गरेको उनले बताए। ‘पृथ्वीपथबिना कांग्रेसको प्रजातान्त्रिक समाजवाद वा कम्युनिष्टको समाजवाद-साम्यवाद अगाडि बढ्न सक्दैन,’ उनले भने। राष्ट्रवाद नै पृथ्वीपथ भएको र देशलाई माया गर्नु, विदेशी सामु नझुक्नु नै यो नेपाली मौलिक वाद भएको उनको टिप्पणी छ। चन्द्रप्रकाश मैनाली कम्युनिष्ट राजनीतिज्ञ हुन्। २०२८ को झापा काण्डदेखि चर्चामा आएका उनी लामो समयदेखि नेकपा मालेका महासचिव छन्। २०७२ मा उपप्रधानमन्त्री भएका मैनाली नेपाल कम्युनिष्ट पार्टी (एमाले) फुटेर मालेमा लागेका थिए। पछिल्ला वर्षमा पार्टी खुम्चिँदा कम चर्चामा रहेका उनी चितवन महाधिवेशनबाट पुन: महासचिव चुनिए। ७० वर्ष कटेका मैनाली शारीरिक रूपमा वृद्ध भए पनि राजनीतिक रूपमा सक्रिय छन्। २०४६ र त्यसअघिको पुस्ताका लागि परिचित मैनाली नयाँ पुस्ताका लागि कम परिचित छन्। कार्यक्रममा राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपाल, कार्यबाहक संयोजक प्राज्ञ डा. जगमान गुरुङसहित उपस्थित थिए।साभार : नादप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार