उपचार सिंगापुरमा, फलोअप बैंककमा ?…..

काठमाडौं –    कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न अघिल्लो बिहीबार बुढानीलकण्ठ जाँदा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र केही मन्त्रीसँग केही गुनासा र जिज्ञासा थिए । उनीहरूले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहकार्य गर्दाका सजिला–अप्ठेरा सुनाए । पछिल्ला दिनमा गठबन्धनभित्रबाट हुने नियुक्ति, सरुवा, बढुवा आदिमा ओली एकछत्र हाबी भइरहेको भन्दै कांग्रेसजस्तो संसदको पहिलो पार्टीले साझेदारीलाई कसरी अगाडि बढाउँछ भनेर सोधे । अनि नेताहरूले एमालेसँग सत्ता–गठबन्धन कत्तिको सहज जाला भनेर उठेका आशंकाबारे देउवाको धारणा चाहे । खासगरी पछिल्ला दिनमा विपक्षी नेता पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रको तर्फबाट देउवालाई प्रधानमन्त्रीका रुपमा अघि सार्दा आपत्ति नहुने भन्दै दिइरहेका संकेत र त्यसपछिका पृष्ठभूमि के हुन सक्छन् भनेर उनीहरूले पार्टी सभापतिको राय जान्न चाहे । देउवाले थुम्थुम्याउँदै भने, ‘एउटै पार्टीभित्र त नियुक्ति, बढुवा आदिमा कत्रो लफडा पार्छन्, यो त गठबन्धन हो । धेरै यताउता हुँदैन, अलिअलि चित्त बुझाउनुपर्छ । ओलीजीको शैली पनि त छ आफ्नै खालको । उपचारपछि घरैमा विश्राम गरिरहेका कांग्रेस उपसभापति पूर्णबहादुर खड्का त्यस दिन भने बुढानीलकण्ठस्थित देउवा निवास पुगेका थिए । उनले एमालेसँगको साझेदारी शैलीलाई समीक्षा गर्नुपर्ने बताइरहँदा दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले समर्थन जनाएका थिए । अरु नेताहरूले पनि गभर्नर, पुलिसका उच्च अधिकारीलगायत नियुक्तिदेखि अब छिट्टै हुने निर्वाचन आयोगको प्रमुख आयुक्तसम्मै ओलीका रुचिले बढ्ता काम गरेको गुनासो गरेका थिए । देउवाले त्यसै बीचमा आफू एकपल्ट बैंकक गएर फर्किने, बाँकी सल्लाह त्यसपछि गरे पनि हुने भन्दै प्रतीक्षा गर्न आग्रह गरे । पूर्वी एशियाली देश थाइल्याण्डको राजधानी शहर बैंकक ओखती उपचार र आरामका लागि चर्चित छ जहाँ देउवाले १२ वैशाखसम्म अर्थात् झण्डै एक साता बिताउने छन् । त्यसै क्रममा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सभापति देउवालाई सोधे, ‘सभापतिज्यू, तपाईंले सरकारको आयुबारे जति ढुक्क पार्न खोजे पनि यो बीचमा काठमाडौंमा भइरहेका विभिन्न खालका भेटवार्ता, उठबसबारे तपाईंलाई जानकारी नहुने कुरै भएन । यही बेला तपाईं बैंकक जाँदै हुनुहुँदो रहेछ । के छ बैंककमा ? ‘केही छैन यार । स्वास्थ्यको फलोअप । त्यत्ति हो । शर्माले अरु कोट्याए, ‘यसअघि त तपाईं सिंगापुरमा उपचार गराउन जानुभएको थियो, अनि फलोअप चाहिँ बैंककमा ? देउवा हाँसे । कुनै ठोस जवाफ दिएनन् । ‘स्वास्थ्यको कुरा हो, डाक्टरको कुरा हो । यस्तो भइहाल्छ नि । तपाईंहरू पनि बुढो भएपछि थाहा पाउनुहुन्छ,’ देउवाले ठट्टा गर्दै भने । देउवाले यति बेला जनता राजनीतिक अस्थिरता र अव्यवस्थाले दिक्क बनेका बेला थप अस्थिरता सिर्जना गर्न नहुने भन्दै पार्टीपंक्तिलाई जिम्मेवार भएर सोच्न सम्झाइरहेका पनि थिए । तर स्वास्थ्यको विलकुल मानवीय संवेदनासँग जोडिने चासोलाई चिकित्साशास्त्र भन्दा राजनीतिशास्त्रसँग जोडेर शंका गर्ने आधार भने अरु कोही नभई उनै देउवाले दिइरहेका छन्, जसबारे कांग्रेसभित्र पनि चासो छ । एमाले लगायत इतर–कांग्रेसवृत्तमा पनि कम्ति चासो छैन । हुन पनि जहाँ उपचार हुनेगर्थ्यो, फलोअप हुने त्यहीँ हो । तर यहाँ अस्पतालमात्र होइन देशकै फरक परिदियो जसबारे देउवाले पार्टीभित्र–बाहिर प्रष्ट पारेका छैनन् ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार