दशकदेखि बारपाकीलाई झस्काइरहेको दिन…..

गोरखा –      १२ वैशाख २०७२ । दिन थियो, शनिबार । बारपाकका चेतबहादुर गुरुङ धन्सार बनाउन खेताला बोलाएर गारो लगाउँदै थिए । घरभित्र आमा र भाइबुहारी खेतालाका लागि खाजा तयार गर्दै थिए । दुई छोरी पिँढीमा खेलिरहेका थिए । एकाएक बेसरी जमिन हल्लियो । घर गर्ल्यामगुर्लुम लड्यो । त्यही घरमा पुरिए २ र ६ वर्षका (भाइ र आफ्नी) छोरी, २५ वर्षीया बुहारी र ६७ वर्षीया आमा । भग्नावशेष भित्रबाट आमाको चित्कास सुनियो । तर, निरीह हुँदै हेर्नुबाहेक चेतबहादुरसँग अर्को विकल्प भएन । हतप्रभ उनी के गर्ने, के नगर्ने सोच्न सकिरहेका थिएनन् । केही क्षणमै आमाको आवाज मधुरो बन्दै गयो र अन्ततः बिलायो । सधैंभरि आमाले मलाई चित्ता भनेर बोलाउनुहुन्थ्यो, घर ढलेर पुरिएकी आमाले चित्ता–चित्ता भनेर चिच्याएको सुनें, पछि आवाजसँगै आमा बिलाउनुभयो,’ भक्कानिँदै चेतबहादुरले जीवनको सबैभन्दा पीडादायी त्यो दिन सम्झिए । उनका अनुसार केहीबेरपछि घरमा आगो लाग्यो, जीवनका सबै सम्भावना खरानी भए । भूकम्पको तीन दिनपछि नेपाली सेनाको सहयोगले घरको भग्नावशेष हटाइयो । पिँढीमा खेलिरहेका छोरीहरूको शव भेटियो, भान्सामा रोटी पकाउँदै गरेका आमा र बुहारीको शरीरका केही भाग मात्र भेटिए । आफूभन्दा अघिल्लो र आफूपछिको पुस्ता एकैचिहान भएको दिनले चेतबहादुरलाई आज पनि पिरोलिरहेको छ । उनी जब एक्लै हुन्छन्, आज पनि आँखा रसाउँछन् । मन गाँठो पर्छ, भक्कानो छुट्छ । त्यस दिन आएको विनाशकारी भूकम्पको केन्द्रविन्दु त्यही बारपाक थियो । ७.८ म्याग्निच्युडको भूकम्पले देशै हल्लाएको थियो । केन्द्रविन्दु रहेको बारपाकका अधिकांश घर धुलोमा मिलेका थिए । घर भत्किँदा उठेको धुलोले सिंगो बारपाकलाई ढपक्कै ढाकेको थियो ।

भूकम्पपछि उठेको इपिसेन्टर बारपाक, व्यथा अर्कै छ:

सिंगै गाउँको अवस्था उस्तै थियो । त्यसैले मलामी पाउन मुस्किल । चेतबहादुरले जसोतसो तीन–चार जना जम्मा पारे र चिहानडाँडामा लगेर शव गाडे । चारैजनाको सम्झनामा उनले चिहानडाँडामा चिनो स्वरुप देउराली बनाएका छन् । हरेक १२ वैशाख र दसैंको दिन धूप र पाती चढाउन त्यहाँ पुग्छन् । सुमबहादुर गुरुङको पीडा पनि उस्तै छ । भूकम्पकै कारण उनले तीन महिनाकी नवजात छोरीसहित आमा र श्रीमती गुमाउनुपर्‍यो । आफ्नै घरमा बसिरहेका उनीहरू छिमेकीको घर ढलेर पुरिएका थिए । परिवारका तीन सदस्य गुमाउँदाको पीडाबाट उनी अहिले पनि बाहिर निस्कन सकेका छैनन् । तर पनि जीवन अघि बढाउनै परेको छ । चेतबहादुर र सुमबहादुरले मात्र होइन, प्रत्येक बारपाकवासीले व्यहोरेको पीडा हो यो । विनाशकारी भूकम्पमा परेर बारपाकका ७२ जनाले ज्यान गुमाएका थिए । थुप्रै घाइते भए । १२ सयभन्दा बढी घरधुरी भग्नावशेषमा परिणत भयो । दश वर्षको अवधिमा बारपाकमा भौतिक संरचना बदलिएको छ । बाहिरी संसारबाट करिब सम्बन्ध विच्छेदको अवस्थामा रहेको बारपाकको यसबीच धेरैले भ्रमण गरेका छन् । तर, बारपाकीलाई अहिले पनि त्यस दिनको यादले खल्लो बनाउने गरेको छ ।साभार : अखप

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार