काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार दल नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाबीच भेटवार्ता भएको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा झन्डै २ घन्टा दुई नेताबीच छलफल भएको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार, दुई नेताबीच पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छालफल भएको हो । विशेषगरी पछिल्लो पटक सरकार ढल्ने भन्दै भएका प्रचार र उक्त भ्रम चिर्नेगरी दुई नेताबीच छलफल भएको पौडेल बताउँछन् । सरकार ढल्छ भन्ने भ्रमपूर्ण प्रचारको कुनै तुक छैन, बाहिर भएको हल्लाजस्तो केही छैन भन्ने नै दुवै नेताबीच मोटामोटी सहमति छ,´ अर्थमन्त्री पौडेलले भने । प्रधानमन्त्री ओली र सभापति देउवाले हिजोबाट सुरू भएको संसदको बजेट अधिवेशनबारे पनि छलफल गरेका छन् । आन्दोलनरत शिक्षकका माग सम्बोधन, कक्षा १२ को परीक्षा, बजेट निर्माण, गभर्नर नियुक्ति लगायतका विषयमा उनीहरूबीच छलफल भएको थियो । उनीहरू साढे ७ बजेदेखि साढे ९ बजेसम्म छलफलमा बसेका थिए । पौडेलले भने, `बाहिर भएका हल्लामा सत्यता छैन, सरकारले गम्भीर भएर जनताको हितको पक्षमा काम गर्ने र आवश्यक सहजीकरण दुवै दलले गर्ने भन्नेमा दुवै नेता एकमत देखिनुहुन्छ । देउवा थाइल्यान्ड भ्रमणमा हुँदा प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतले सरकार ढल्ने दाबी गरिरहेका थिए । देउवाले हिजो विमानस्थलबाटै सरकारबारे स्पष्टीकरण दिनुपरेको थियो । लगत्तै आज प्रधानमन्त्री ओलीसङ्ग भेटेर थप मजबुत भएर काम गर्न आफू तयार रहेको बताएका छन् ।साभार : अखप












