काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट विद्या भट्टराईले राजीनामा दिएको विषय नेकपा एमालेको सचिवालय बैठकमै उठेको छ । केन्द्रीय मुख्यालय च्यासलमा आइतबार अपरान्ह बसेको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले भट्टराईले काम गर्न नसकेर मन्त्री पदबाट राजीनामा दिएको प्रसंग उठाएका हुन् । ‘काम गर्न नसकेर राजीनामा दिएको हो, तर त्यो कुरालाई लिएर मलाई अप्ठ्यारो पार्न खोजियो’, ओलीले भनेका थिए । मन्त्रालयको नेतृत्व गर्न नसकेर भट्टराईले राजीनामा दिएको विषयलाई पार्टीकै उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गलत व्याख्या गरेको ओलीले बैठकमा भनेका थिए । ‘स्टाटसमा लेख्नुभएको जस्तो कुरा होइन, क्षमता र योग्यता नभएर राजीनामा गर्नुभएको हो,’ उपाध्यक्ष शाक्यले लेखेको स्टाटसप्रति आपत्ति जनाएका थिए । शिक्षामन्त्रीबाट राजीनामा दिएकी भट्टराईलाई हौसला दिनेगरी र पार्टी नेतृत्वप्रति प्रश्न उठाउँदै उपाध्यक्ष शाक्यले गत ९ वैशाखमा एउटा स्टाटस लेखेकी थिइन् । शिक्षक आन्दोलन चलिराखेको बेला शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा किन दिनुपर्यो ? विद्या भट्टराई सक्षम, इमान्दार, उच्च नैतिकता भएको एउटा असल नेता भएको कारणले राजीनामा दिनु परेको हो ?’, शाक्यको प्रश्न थियो । यही स्टाटसलाई लिएर प्रधानमन्त्री ओलीले सचिवालय बैठकमा शाक्यप्रति आपत्ति जनाए । तर उपाध्यक्ष शााक्यले उल्टै प्रश्न गरिन् । मलाई लाग्यो, विद्या भट्टराई योग्य र क्षमता भएकी नेतृ हुन् । त्यसैले उनलाई हौसला दिनेगरी त्यो (स्टाटस) लेखेको थिएँ’, शाक्यको जवाफ थियो । बैठकका एक सहभागीका अनुसार उपाध्यक्ष शाक्यले उल्टै ओलीको शैलीप्रति प्रश्न गरिन् । ल मैले विद्या भट्टराई योग्य नेतृ भन्ने लागेर त्यस्तो लेखे । तर तपाईंले पनि आफ्नै कमिटीका नेता बारेमा बाहिर–बाहिर स्पष्टीकरण सोधिन्छ भन्दै बोल्दै किन हिँड्नु भएको ?,’ शाक्यको प्रश्न थियो । गत १३ वैशाखको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले शाक्यबारे बोलेका थिए । विद्या भट्टराईलाई हिरो बनाउनेगरी उपाध्यक्षले नै बोलेकाले स्पष्टीकरण सोधिन सक्ने ओलीले संकेत दिएका थिए । त्यही कुरालाई आजको सचिवालय बैठकमा शाक्यले उठाएकी थिइन् । तर प्रधानमन्त्री ओलीले आफ्नै कुरालाई बलियो बनाउने जवाफ दिए । विद्या भट्टराई एउटा सांसदको हैसियतकी मान्छे रहेछन्, मैले मन्त्री बनाएँ । मन्त्री चलाउने क्षमता नदेखाएकाले राजीनामा दिइन्’, ओलीले भनेका थिए । दिउँसो १ बजे बोलाइए पनि दुई घण्टा ढिलोगरी बैठकमा आएका ओलीले पार्टीको आन्तरिक जीवनबारे थप कुरा पछि हुने भनेर टुंग्याए । यद्यपि सरकारको नीति तथा कार्यक्रम, सत्ता समीकरण, विद्या भट्टराईको राजीनामा र निलम्बनमा परेका नेताहरूबारे समेत बैठकमा कुरा उठ्यो । अध्यक्षले बैठक सुरु गर्दै कुरा राख्दा नै नीति तथा कार्यक्रम, सत्ता समीकरण र भट्टराईको राजीनामाबारे कुरा गर्नुभयो,’ अर्का एक सहभागीका भन्छन्, ‘निलम्बनमा परेका विन्दा पाण्डे र उषाकिरण तिमल्सेनाको विषय अरु नेताहरूले उठाउनुभएको थियो ।’ उनका अनुसार ६ महिने निलम्बनमा परेकी नेतृहरूबारे अर्को बैठकमा निर्णय हुने ओलीले जवाफ दिए । तीन दलको बैठक भनेर अध्यक्षले बैठक छिटो सक्नुपर्ने भनेपछि अरु नेताहरूले आफ्नो कुरा राख्ने अवसर पनि पाउनु भएन’, ती नेता भन्छन् । बैठकमा ओली बाहेक उपाध्यक्ष्यहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डेले आफ्नो कुरा राखेका थिए । उपाध्यक्ष पाण्डेले नीति तथा कार्यक्रमबारे आफ्नो कुरा राखिरहँदा ओलीले बालुवाटार फर्कन ढिला भएको भन्दै बैठक टुंग्याएका थिए ।साभार : अखप