काठमाडौं – दुई साताअघि पहलगाममा भएको आतंकवादी हमलाको ‘जवाफी कारबाही’ भन्दै भारतले गएराति पाकिस्तानमा हवाई आक्रमण गरेपछि परिस्थिति थप बिग्रिन सक्नेमा अमेरिकासहितका मुलुकहरुले चिन्ता व्यक्त गरिरहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान लामो समयदेखि लड्दै आएको भन्दै यो चाँडै सकियोस् भनेका छन् । आफैं युद्धमा रहेको इजरायलले भारतलाई समर्थन गर्दै बुधबार मध्यराति भएको हवाई हमलालाई आतंककारीविरुद्धको कारबाही भनेको छ । संयुक्त अरब इमिरेट्स (यूएई) ले चाहिँ दुवै पक्षलाई संयम अपनाउन र राजनीतिक संवादमार्फत विवाद समाधान गर्न भनेको छ । तर, भारतको नजिकको छिमेकी नेपालले भने हालसम्म यो विषयमा मुख खोलेको छैन । बुधबार केन्द्रीय सुरक्षा समितिको बैठक बसेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको छ । बैठकमा गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेल, रक्षामन्त्री मानवीर राई, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल लगायत थिए । यो बैठकमा पहलगाम आक्रमण र भारतले गएराति पाकिस्तान प्रशासित कश्मिर र पाकिस्तानमा रहेको हवाई कारबाहीबारे छलफल भएको स्रोतको भनाइ छ । परराष्ट्र मन्त्रालयका अधिकारीहरु भने यस विषयमा हालसम्म धारणा बनाइनसकिएको बताउँछन् । मन्त्रालय स्रोतका अनुसार, सुरक्षा परिषद्को बैठक सकिएसँगै यस विषयमा कुनै वक्तव्य आउनसक्छ । एक साताअघि भारतीय विदेशमन्त्री एस जयंशरको विशेषदूतका रुपमा काठमाडौं आएका सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपाली नेताहरुसँग भेट गर्दै आतंकवादविरुद्ध नेपालको साथ आफूहरुलाई आवश्यक पर्ने बताएका थिए । उनले यस्तै परिस्थितिमा नेपालले आफूलाई साथ देओस् भन्ने अपेक्षा राखेको उनीसँग भेट गरेका नेताहरु बताउँछन् । भारत प्रशासित कश्मिरको वैशरण उपत्यकामा पर्ने पहलगाममा १० वैशाखमा नेपाली नागरिक २७ वर्षीय सुदीप न्यौपानेसहित २६ जना मारिएका थिए । त्यो घटनाको जिम्मेवारी धार्मिक कट्टरपन्थी समूह द रेसिस्टेन्ट फ्रन्ट (टीआरएफ) ले लिएको थियो, जसको पाकिस्तानमा आधारित इस्लामिक आतंकवादी समूह ‘लस्कर–ए–तोइबा’सँग सम्बन्ध रहेको भनिन्छ । लस्कर ए तोइबालाई पाकिस्तानको खुफिया एजेन्सी इन्टर सर्भिस इन्टलिजेन्स (आईएसआई) को सहयोग रहेको आरोप लाग्ने गर्छ । नयाँ दिल्लीले त ‘लस्कर ए तोइबा’लाई भारतविरुद्ध लड्न पाकिस्तानले बनाएको ‘प्रोक्सी आतंकवादी संगठन’को आरोप लगाउने गरेको छ । यस्तोमा पाकिस्तान प्रशासित कश्मिर र पाकिस्तानमा रहेको आतंकवादीहरुको ९ अड्डामा हवाई कारबाही गरेर पहलगाम घटनामा संलग्नलाई ‘न्याय दिइएको’ भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीले बताएका छन् ।साभार : अखप