काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत् कर्मचारीले नै मानव तस्करीमा संलग्न गिरोहलाई सहयोग गर्ने गरेको भेटिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनका क्रममा विमानस्थल अध्यागमन प्रमुख सहसचिव तीर्थराज भट्टराई नै भिजिट भिसाका नाममा मानव तस्करी गराउने गिरोहसँग जोडिएको भेटिएको हो । आयोगका एक अधिकारीका अनुसार, भट्टराईले गिरोहसँग लेनदेन गरेको केही आधारहरु फेला परेपछि उनलाई बुधबार नियन्त्रणमा लिइएको थियो । उहाँलाई नियन्त्रणमा लिएर मोबाइलसहितका विद्युतीय उपकरणहरु जफत गरेका छौं’, ती अधिकारीले भने, ‘सबै प्रमाणहरु संकलन गर्ने काम भइसकेको हुँदा उहाँलाई भोलि (बिहीबार) बिहान उपस्थित हुने गरी छाडेका छौं । आयोगले विमानस्थलमा कर्मचारीकै सेटिङमा भइरहेको मानव तस्करीबारे एक महिना अघिबाटै अनुसन्धान गरिरहेको थियो । पछिल्लो साता भने छानबिनले तीब्रता पाएको थियो । मन्त्रालय स्रोतका अनुसार, आफूसहितका कर्मचारीमाथि छानबिन भइरहेको थाहा पाएपछि सहसचिव भट्टराईले गृह मन्त्रालयका अधिकारीहरुसँग सरुवा मागेका थिए । उहाँलाई मंगलबार मात्र सरुवा गरेर मन्त्रालय तानिएको थियो, विमानस्थल अध्यागमनमा पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालालाई पठाइएको थियो’ गृहका एक अधिकारीले भने, ‘उहाँ त्यहाँ जानु भएको ८ महिना मात्र भएको थियो । अधिकृतहरुका अनुसार, विमानस्थलमा अध्यागमन कर्मचारीहरुको सेटिङमा डेढ वर्षयता मानव तस्करी भइरहेको थियो। विगतमा उपत्यका अपराध अनुसन्धान कार्यालयले समेत मानव तस्करीमा संलग्न भएको आरोपमा अध्यागमन विभागका अधिकृत नरविर खड्कासहितका कर्मचारीहरुलाई नियन्त्रणमा लिएको थियो । मानव तस्करीमा संलग्न गिरोहलाई सहयोग गरेको आरोपमा पक्राउ परेका भट्टराई विमानस्थलमा कार्यरत् हालसम्मकै उच्च तहका सरकारी अधिकारी हुन् । लेनदेन बाहिरै हुन्थ्यो, सूचना आदनप्रदानका लागि छुट्टै मोबाइल फोनको प्रयोग गरिन्थ्यो,’ छानबिनमा संलग्न एक अधिकृत भन्छन्, ‘त्यो कार्यान्वयन गर्ने जिम्मा सिफ्टमा खटिने तल्ला तहका कर्मचारीको हुने हुँदा माथिल्लो तहका अधिकारी छानबिनमा आएका थिएनन् । भट्टराईलाई अख्तियारले नियन्त्रणमा लिएपछि यो नेक्सस अझ माथिल्लो तहसम्म समेत पुग्नसक्ने आशंका गरिएको छ । अध्यागमनका एक अधिकृतका अनुसार, भिजिट भिसामा विदेश जान चाहने युवालाई पास गराएवापत प्रतिव्यक्ति निश्चित रकम लिने सेटिङमा ‘कर्मचारीको एउटा समूह नै संलग्न’ छ । अख्तियारले साँच्चै गहिरिएर अनुसन्धान गर्ने हो भने त्यो नेक्सस खुलिहाल्छ’, ती अधिकृतले भने, ‘विमानस्थलमा मानवतस्करको जालो भत्काउने यो अवसर पनि हो । गृह मन्त्रालयमा ३० फागुन २०८० देखि १४ भदौ २०८१ सम्म सचिव रहेका एकनारायण अर्यालले संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा ‘भिजिट भिसामा महिलाहरु पठाउने गिरोहलाई राजनीतिक संरक्षण रहेको’ समेत दाबी गरेका थिए । आयोगका अधिकृतहरुसमेत प्रारम्भिक जाँचमा दैनिक रुपमै एक सयभन्दा बढी युवालाई सेटिङमा विदेश पठाएको जस्तो देखिएको बताउँछन् । यसमा ट्राभल एजेन्सीदेखि नक्कली कागजात बनाउने व्यक्ति र विचौलियासम्म संलग्न छन्’, एक अधिकृतले भने, ‘यो गिरोहले दिनमै ३० लाख रुपैयाँभन्दा बढी असुली गरेको अनुमान छ ।साभार : अखप












