राजनीतिक संरक्षणमा व्यापक अवैध उत्खनन…..

विराटनगर –     मोरङको कानेपोखरी गाउँपालिकाभित्रका खोलामा प्राकृतिक स्रोतहरूको अवैध उत्खनन हुने गरेको पाइएको छ । गाउँपालिकाको स्वीकृतिविना ठेक्का प्रक्रिया नपुर्‍याई स्काभेटर र जेसीबीलगायत उपकरणहरू प्रयोग गरी नदीजन्य स्रोतको व्यापक दोहन भएको पाइएको हो । गाउँपालिकाले नियन्त्रणमा लिएको जेसीबीमार्फत यो गैरकानुनी गतिविधि बाहिर आएको छ । कानेपोखरी ६ स्थित सुकुना खोलाबाट अवैध उत्खननमा प्रयोग भएको को १ क २००० नम्बरको जेसीबी गाउँपालिकाको निर्देशनमा नियन्त्रणमा लिइएको गाउँपालिकाकी अध्यक्ष राजमती इङनामले जानकारी दिइन् । उनका अनुसार कुनै पनि ठेक्का सम्झौता नलिएको अवस्थामा पनि नदीजन्य सामग्रीको उत्खनन गरिएको भेटिएको हो । यस्ता कार्यमा सवारी साधन प्रयोग गर्न नपाइने स्पष्ट कानुनी मापदण्ड हुँदाहुँदै जेसीबी प्रयोग गरी नदी दोहन भइरहेको प्रमाणित भएको छ । कानेपोखरी गाउँपालिकाले स्काभेटर नियन्त्रणमा लिएसँगै प्रदेश सरकारद्वारा निर्मित कानुन अनुसार आवश्यक कारबाही अघि बढाइने अध्यक्ष इङनामले बताएकी छन् । स्थानीय स्रोतका अनुसार सुकुना खोलामा भइरहेको अवैध उत्खनन कांग्रेसका स्थानीय नेता सन्तोष फुयालको संरक्षणमा भइरहेको छ । फुयाल नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा पक्षधर मानिन्छन् । उत्खनन कार्यमा प्रयोग भएको जेसीबी युवराज खड्काको रहेको छ । उनी कांग्रेसका कार्यकर्ता हुन् । यो संगठित अभ्यासले स्थानीय प्रशासन, राजनीतिज्ञ र व्यवसायीबीचको मिलेमतो प्रष्ट पारेको छ । स्थानीय बासिन्दाका अनुसार, राति र दिन दुवै समयमा सुकुना खोलाबाट जेसीबी प्रयोग गरी उत्खनन हुने गर्दछ । उत्खनन गरेर ल्याइएको नदीजन्य सामग्री, ढुङ्गा, गिटी, बालुवा र भरौट कानेपोखरी–६ स्थित रमाइलो बजारदेखि उत्तर फुयालको खाली जग्गामा संकलन गरिएको छ । हालसम्म त्यहाँ ४० देखि ५० ट्रकसम्म सामग्री जम्मा भएको बताइएको छ । खोलाबाट अवैध रूपमा निकालिएको बालुवा र गिटी स्थानीय बजारमा महँगो मूल्यमा विक्री भइरहेको छ । एक ट्रयाक्टर सामग्रीको मूल्य ३ हजारदेखि ७ हजार रुपैयाँसम्म लिइने गरिएको स्रोतले जनाएको छ । यसरी सरकारलाई कुनै पनि राजस्व नतिरी अवैध उत्खननबाट आर्थिक लाभ लिने कार्यले आर्थिक अनियमितताको सिर्जना मात्र होइन, खोलाको पारिस्थितिक प्रणालीमा पनि गम्भीर असर पारेको छ ।साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार