काठमाडौं – भीडभाड, उडानअगाडि यात्रुहरूको हतारो, दौडधुप र अध्यागमन कक्षको चाप, यस्ता गतिविधि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सामान्य दिनचर्या हुन् । तर भित्रभित्रै एउटा महत्त्वपूर्ण निगरानी चलिरहेको थियो । विगतका असफलताहरूबाट सिकेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकारीहरू तीन दिनदेखि विमानस्थलमै ‘अन्डरकभर अपरेशन’मा खटिइरहेका थिए । केही महिनाअघि आयोगमा एउटा गोप्य सूचना आयो– ‘भिजिट भिसाको नाममा युवाबाट व्यापक असुली भइरहेको छ ।’ यो सूचनाले आयोगका अधिकारीलाई सतर्क बनायो । सूचना एकपटक होइन, पटक-पटक आइरहेपछि आयोगले गृह मन्त्रालयलाई दुईपटक पत्राचार गर्यो । तर, गृह प्रशासनले कुनै ठोस कदम चाल्ने रुचि देखाएन । अन्ततः अख्तियारको चिठी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म पनि पुग्यो । प्रधानमन्त्री कार्यालयले पनि गृह मन्त्रालयलाई छानबिन गर्न निर्देश गर्यो । तर, गृहले उस्तैगरी आँखा चिम्लिएपछि अख्तियार आफैं मैदानमा ओर्लियो, तर चलाखीपूर्वक र योजनाबद्ध ढंगले । यसअघि पनि विमानस्थलमा अख्तियारका अपरेशनहरू चलेका थिए । तर त्यहाँको कर्मचारी संयन्त्र यति सशक्त थियो कि अधिकारीहरू छिर्नासाथ खबर चुहिन्थ्यो, र दोषी सतर्क भइहाल्थे । अख्तियारका अधिकारीहरूले पास लिनेबित्तिकै सूचना अध्यागमनमा पुग्थ्यो, र शंकास्पद कर्मचारी सजिलै उम्किन्थे । त्यही कारण, यसपटक अख्तियारले आफ्नो रणनीति बदलेर गोप्य निगरानी सुरु गर्यो । अनुसन्धान अधिकारीहरू विमानस्थलमै रहेर गतिविधि नियालिरहेका थिए । तेस्रो दिन, अप्रत्याशित रूपमा अध्यागमन प्रमुख सहसचिव तीर्थराज भट्टराईको सरुवाको खबर आयो । जसविरुद्ध केन्द्रित भएर छानबिन भइरहेको थियो, उनी नै सरुवा भए, त्यो पनि अचानक । आयोगका अधिकारीहरूले त्यो दिन उनको साथबाट तीन वटा मोबाइल बरामद गरे । एउटा निजी, अर्को सरकारी मोबाइलका अतिरिक्त थप एउटा स्मार्ट फोन समेत भेटिएको छ । अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार, प्रायः बिचौलियाले असुली गरिएका व्यक्तिहरूको विवरण पठाउन कर्मचारीलाई छुट्टै स्मार्टफोन दिने गरेका थिए । त्यस्ता फोन प्रत्येक हप्ता फेरिने गरेको अनुसन्धानबाट खुलेको छ । आयोगले छापा मारेको दिन भट्टराई दिनभर आयोगको नियन्त्रणमा रहे । साँझ आवश्यक परेका बेला उपस्थित हुने गरी छुटे । आयोगका अधिकारीहरूका अनुसार, प्रमाण संकलन भइसकेको निष्कर्षसहित उनलाई त्यसदिन छाडिएको थियो । त्यसअनुसार, मंगलबारदेखि उनको बयान भइरहेको छ ।साभार : अखप












