१६ औँ अभिव्यक्ति सृङ्खलामा देवेन्द्र खेरेसको एकल कविता वाचन साथै “बैरागी काइँला अभिनन्दन ग्रन्थ” लोकार्पण ( भिडियो सहित )

आसफोर्ड केन्ट युके ।

८  जून २०२५, नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले १६ औँ अभिव्यक्ति सृङ्खला, आसफोर्ड केन्ट स्थित  सेन्ट साइमन हलमा हिजो जुन ७ मा  कवि तथा साहित्यकार देवेन्द्र खेरेसको एकल कविता वाचन साथै संस्थाद्धारा प्रकाशित वरिष्ठ कवि तथा मुन्धुम अन्वेषक बैरागी काइँलाको सामाजिक तथा सृजनात्मक आयामको बारेमा लेखिएको कृति “बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ” प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदुत महामहिम चन्द्रकुमार घिमिरेबाट लोकापर्ण भएको छ ।

कवितामा उनले धेरै ठाउँ आफू जन्मेको भूगोल छोडेर डायस्पोरामा हुनुको पीडालाई महत्वका साथ उठाएका छन् । प्रवासबाट आफ्नो जन्मभूमिलाई समर्पित कवितामा यत्रतत्र जीवनका भोगाइहरू छटपटिएका छन् ।

थोरै कविता लेखेर पनि परम्परालाई तोड्न सकिन्छ र नयाँ परम्पराको थालनी गर्न सकिन्छ भन्ने सबूत प्रमाणका रूपमा कवि खेरेसका कविताहरुबाट बुझ्न सकिन्छ । कवितामा नेपालको पुरातनपन्थी सोचसँग विमती राख्छन्, आक्रोशको ज्वारभाटा उकेल्छन् । कवि आफ्ना कविताहरूमा क्रमभङ्गताको पक्षमा उभिएका छन् ।

पचासको दशकबाट कविता लेख्न सुरू गरेका खेरेसका दुई कृतिहरू रुङ्रीको बयान र नदी किनारा (कविता संग्रह, २०६५) र, कोलम्बस यात्रा (कविता संग्रह, २०७५) प्रकाशित छन् ।

कवि देवेन्द्र खेरेस हङकङ डायस्पोराबाट नेपाली कविता साहित्यमा उदाएका एक सशक्त कवि हुन् । नेपाली कविता लेखनमा अलग पहिचानको मान्यता राख्ने उनका कविताहरू काव्यिक इतिहासको एउटा महत्वपूर्ण खुराक बन्न सक्दछ । कवितामा नोस्टाल्जिक प्रेम, युगौँ देखिको आदिवासी पीडा र अस्तित्वको खोज र अन्वेषण भेटिन्छन् ।

उनका कवितामा नवीन चिन्तन, नवीन शैली र नवीन विद्रोह भेट्न सकिन्छ । समय अनुसार नयाँ चेतनाको विकासको वरण आजको मान्छेले गर्नुपर्ने तथ्यलाई अघि सारेका छन् । उनका कवितामा मिथक, बिम्व, प्रतीक र भाषाको समेत सुन्दर संयोजन भएको पाइन्छ । कवि खेरेसको एकल प्रस्तुतिमा १५ वटा  नयाँ तथा पुराना सृजनाहरू प्रस्तुत गरेका छन् ।

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले स्थापनाकालदेखि बेलायतमा प्रत्येक वर्ष अभिव्यक्ति सृङ्खलाको आयोजना गरेर एकजना स्रस्टाको सृजनाहरू प्रस्तुत गर्दै आइरहेको छ ।

प्रतिष्ठानका अध्यक्ष टंक वनेमज्यूको सभापतित्वमा सम्पन्न समारोहमा प्रमुख अथिति वेलायतका लागि नेपाली राजदूत महामहिम चन्द्रकुमार घिमिरेले सम्बोधन गरेका थिए ।भने, नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतका महासचिव चोक गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार