लस एन्जलस प्रदर्शनको नालीबेली…..

वासिङ्टन –     अमेरिकामा राष्ट्रपति डाेनाल्ड ट्रम्पको आप्रवासन सम्बन्धी नीतिविरुद्ध दैनिक रूपमा विरोध प्रदर्शनहरू हुन थालेका छन् । त्यसलाई नियन्त्रण गर्नका लागि अमेरिकी सहर लस एन्जलसका मेयरले गत मंगलबार सहरको मध्ये क्षेत्रमा रातभर लागू हुने गरी कर्फ्यु घोषणा गरे । तर, त्यहाँको प्रदर्शन अमेरिकाको अन्य सहरहरूमा फैलिन थाल्यो । सङ्घीय सरकारले व्यावसायिक कार्यक्षेत्रहरूमा आप्रवासीहरू विरुद्ध छापा मार्न थालेपछि सङ्घीय सरकारको गतिविधि विरुद्ध आक्रोश बढ्दै गएको छ । यसैबिच ट्रम्प प्रशासनले लस एन्जलसमा विशेष प्रकारको सेना अर्थात् मरिन फोर्स तथा नेसनल गार्ड तैनाथ गरेको छ । इतिहासमा यसरी अमेरिकाले आफ्नै भूमिमा सक्रिय सैन्य बल तैनाथ गरिएको यो दुर्लभ परिघटना हो । यसरी सेना परिचालन गर्ने ट्रम्पको कदमप्रति क्यालिफोर्निया र लस एन्जलसका अधिकारीहरूले कडा आपत्ति जनाइरहेका छन् । यद्यपि सरकारी अधिकारीहरूले भने सङ्घीय सरकारको सम्पत्ति र प्रतिनिधिहरूको सुरक्षा गर्ने उद्देश्यले सेना परिचालन गरिएको बताएका छन् । धेरै जसो प्रदर्शनहरू शान्तिपूर्ण रूपमा चलिरहेका थिए । तर, शुक्रबारदेखि प्रशासनका अधिकारीहरू तथा विरोधमा उत्रिएका प्रदर्शनकारीहरू बिचको झडप पश्चात् लस एन्जलस क्षेत्रबाट सयौँ प्रदर्शनकारी पक्राउ परेका छन् । स्थानीय कानुन लागू गराउने अधिकारीहरूले प्रदर्शनमा गोली चलाएका छन् । जसका कारण केही प्रदर्शनकारी र पत्रकार घाइते भएका छन् ।

कसरी सुरु भयो विरोध प्रदर्शन ?

ट्रम्प प्रशासनको कार्यस्थलमा छापा मार्ने नयाँ अभियान स्वरूप सङ्घीय एजेन्टहरूले शुक्रबार अमेरिकाको दोस्रो ठुलो सहर लस एन्जलसको गार्मेन्ट जिल्लामा कागजात नभएका आप्रवासी भएको शङ्का लागेका कामदारहरूको खोजी गर्दा विरोध प्रदर्शन सुरु भयो । ट्रम्प प्रशासनले विभिन्न कार्यस्थलहरूमा वैधानिक कागजात नभएका आप्रवासीहरू विरुद्ध खोजी कार्य बढाउने नीति लिएको छ । यसै अन्तर्गत सङ्घीय सरकारका प्रतिनिधिहरूले गत शुक्रबार अमेरिकाको लस एन्जलसको गार्मेन्ट उद्योगमा अवैध आप्रवासीहरू खोज्ने क्रममा छापा मारेका थिए । त्यहाँ उक्त कदम विरुद्ध विरोध सुरु भयो । यस क्रममा आम मानिसले सङ्घीय सरकारका प्रतिनिधिहरू विरुद्ध नाराबाजी गरेका थिए । उनीहरू ती प्रतिनिधि माथि अण्डा फ्याँकेर प्रतिकार गरिरहेका थिए । प्रदर्शनकारीमाथि अश्रुग्याँस तथा रबरका गोली प्रहार गरेर तितर बितर पारिएको थियो ।एजेन्सी

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार