काठमाडौं – करिब दुई दशकदेखि इजरायलमा बसोबास गर्दै आएका कृष्ण भण्डारीले यति शक्तिशाली आक्रमण यसअघि कहिल्यै अनुभव गरेका थिएनन् । पहिल्यैदेखि मिसाइल आक्रमण हुने गर्थ्यो, तर यहाँको अत्याधुनिक ‘आयरन डोम’ प्रणालीले अधिकांश आक्रमणहरू आकाशमै निस्तेज पार्थ्यो,’ भण्डारी भन्छन्, ‘तर, अहिले एकैचोटि ४ सयदेखि ५ सय मिसाइल आक्रमण हुँदा केही जमिनमा खसेर क्षति भएको छ । गैरआवासी नेपाली संघ, इजरायलका अध्यक्षसमेत रहेका भण्डारीका अनुसार, शुक्रबार रातिबाट इजराइलको आकाशमा तनाव देखिन थालेको हो । मिसाइल आक्रमणका कारण राजधानी तेल अविभ आसपासको आकाश रातभर चम्किएको र साइरन बजिरहेको उनी बताउँछन् । मिसाइलले आकाश पूरै ढाकिएको देखिन्छ, केहीअघि नै साइरनबाट संकेत आएपनि यसपटक पहिले भन्दा फरक महसुस भइरहेको छ’, भण्डारीले अनलाइनखबरसँग भने, ‘हालसम्म कम्तिमा १३ जना मारिएका छन्, १०० भन्दा बढी घाइते भएका छन् । इजरायलले इरानमाथि शुक्रबार हवाई हमला गरेको थियो, जसमा इरानका शीर्ष सैन्य कमाण्डर र आणविक वैज्ञानिकहरू मारिएका थिए । त्यसक्रममा इरानका सैन्य अड्डा, आणविक केन्द्रहरू र आवासीय क्षेत्रहरूमा आक्रमण भएको बीबीसीले जनाएको छ । इजरायलले इरान उच्चस्तरमा आणविक बम बनाउने तयारीमा रहेको भन्दै कारबाही सुरु गरेको जनाएको छ । इजरायलको कारबाहीपछि इरानले पनि मिसाइल आक्रमण सुरु गरेको हो । र, त्यसको सिधा असर इजरायलमा रहेका करिब ५ हजार ५ सय नेपालीहरूमाथि पनि परेको छ । तेल अविभमा नेपाली केयरगिभरहरू तनावको बीचमा काम गरिरहेका छन् । त्यहाँ रहेका नेपालीहरूले हरेक केही मिनेटमा साइरन बज्ने र नजिकै विष्फोटको आवाज सुन्ने गरेको बताउँछन् । भण्डारीका अनुसार, इरानको हवाई कारबाही तेल अबिब क्षेत्रमै केन्द्रित छ, जहाँ अधिकांश नेपालीहरू केयर गिभरका रुपमा कार्यरत छन् । ‘जेरुसलामभन्दा तेल अबिबमा तनावको स्थिति छ, त्यहाँका धेरै नेपालीले तनावपूर्ण अवस्थाबारे हामीलाई बताउनु भएको छ’, उनी भन्छन्, ‘आवश्यक परे कसरी सहयोग गर्ने भन्ने तयारी गरेर बसेका छौं । तेल अविभमा रहेका मोरङका रमेश सुब्बा शुक्रबार यता निरन्तर आपतकालीन साइरन बजिरहेको बताउँछन् ।साभार : अखप












