काठमाडौं – काभ्रेपलाञ्चोककी एक विद्यार्थीले ३० असोज २०८१ मा वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) का लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको सानोठिमीस्थित एनओसी शाखामा आवेदन दिइन् । उनले बिहान ११:२४ बजे दिएको आवेदन सोही दिन शाखाले रद्द गर्यो । चिकित्सा शिक्षा आयोगले दिने योग्यतापत्र (इलिजिब्लिटी लेटर) नभएकाले आवेदन रद्द भएको शाखाले उनलाई भन्यो । प्राप्त गरेको विवरण र पत्रमा शाखाका प्राविधिक सहायक वेदप्रकाश ओझाले उनको आवेदन रद्द गरेको देखिन्छ । त्यसपछि त्यहाँका कर्मचारीले उनीसँग सुरुमै ३० हजार घुस मागेर बार्गेनिङ सुरु गरे । ती विद्यार्थीले बेलायतको एक विश्वविद्यालयमा एमएस्सी (पब्लिक हेल्थ विथ प्रोफेसनल एक्सपेरियन्स) अध्ययन गर्न एनओसीका लागि आवेदन दिएकी थिइन् । मेडिकल विधामा अध्ययन गर्न विदेश जाने विद्यार्थीले चिकित्सा शिक्षा आयोगबाट योग्यतापत्र लिएपछि मात्र एनओसी लिन पाइन्छ । तर उनी जुन विश्वविद्यालयमा अध्ययन गर्न जाँदै थिइन्, त्यो विश्वविद्यालयको क्रेडिट आवर र नेपालको क्रेडिट आवर मिल्ने थिएन । त्यसैले उनले आयोगबाट योग्यतापत्र पाइनन् । चिकित्सा शिक्षा आयोगका अनुसार विद्यार्थी जुन विश्वविद्यालयमा जान लागेको हो, त्यो विश्वविद्यालयको क्रेडिट आवर र कोर्स नेपालका विश्वविद्यालयसँग मिल्ने हुनुपर्छ । योग्यता नपुगेकालाई आयोगले योग्यतापत्र दिँदैन,’ आयोगका एक कर्मचारीले भने, ‘योग्यता मिलेन भने फर्केर नेपाल आएपछि समकक्षता (इक्युभ्यालेन्ट) पनि हुँदैन । तर, ती विद्यार्थीले एनओसीको लागि बारम्बार प्रयास गरिन् । ११ मंसिर २०८१ मा दोस्रो पटक उनले एनओसीका लागि शाखामा बिहान ११:४५ बजे आवेदन दिइन् । तर सोही दिन दिउँसो १:१७ बजे फेरि उनको आवेदन अस्वीकृत भयो । दोस्रो पटक शाखाका कम्प्युटर अपरेटर शैलेन्द्र यादवबाट उनको आवेदन रद्द भयो । रद्द हुनुको कारण उही चिकित्सा शिक्षा आयोगको योग्यतापत्र नभएकाले हो । फेरि कर्मचारीले ती विद्यार्थीसँग पैसाको बार्गेनिङ गरे । यसपटक उनीसँग कर्मचारीले पहिलो पटकभन्दा दोब्बर ६० हजार रुपैयाँ घुस मागे । तर उनी घुस रकम दिन तयार भइनन् । सोही साता उनी अध्ययन गर्न जान चाहेको विश्वविद्यालयले भर्नाको प्रक्रिया अगाडि बढाउन भन्यो । एनओसी नभई उनको प्रक्रिया अगाडि नबढ्ने भयो । बिलखबन्दमा परेकी ती विद्यार्थीले तेस्रो पटक १९ मंसिर २०८१ मा एनओसीका लागि आवेदन दिइन् । यसपटक चिकित्सा शिक्षा आयोगको योग्यतापत्र बिना नै उनको आवेदन स्वीकृत भयो । उनले दिउँसोको २:०३ बजे दिएको आवेदन २:२४ बजे स्वीकृत भयो । कर्मचारीले सहजै उनको आवेदन स्वीकृत गरेको भने होइन । ५० हजार घुस रकमले उनको आवेदन स्वीकृत गर्यो ।साभार : अखप












