काठमाडौं – दुई बुँदे सहमति मार्फत् प्रतिनिधि सभाको अवरोध हटाउन तयार भएको नेकपा माओवादी केन्द्र सहितका विपक्षीहरुले बजेट माथिको छलफलमा भाग लिइरहेका छन् । विपक्षी भूमिका निर्वाह गर्दै उनीहरुले अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको बजेटमा रहेको त्रुटि, कमजोरी र समेट्न नसकेका क्षेत्रहरु उठाइरहेका छन् । तर सँगसँगै संसदमा चलिरहेको नाराबाजीले दुई बुँदे सहमति गर्ने विपक्षीहरुलाई बढी तनाब दिएको देखिन्छ । रास्वपा, राप्रपाहरुको जारी संसद् अवरोध हटाउन सरकारसँग लगातार माग राख्नु उनीहरूमा रहेको चिन्ताको प्रमाण हो । सोमबारको छलफलमा भाग लिदै माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले नाराबाजी गरिरहेका विपक्षीहरुको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए । छानबीन समिति बने नाराबाजी र संसद् अवरोध हटाउन रास्वपा तयार भएकाले यसतर्फ अगाडि बढ्न उनको सुझाव थियो । प्रमुख प्रतिपक्षी सहितसँग जुन सहमति गरेको छ, अब त्यसलाई ३० दिन लगाउने होइन, २९ दिनसम्म पुर्याउने होइन’ बस्नेतको माग थियो, ‘केही दिनभित्र यसलाई सम्बोधन गरेर, अहिले भइरहेको यहाँको विषयहरुलाई अझै समेट्ने र सबैलाई साथमा लिएर जनसरोकारका विषयहरुमा छलफल गर्ने बातावरण सरकारले तयार गरोस् । तर रास्वपा र राप्रपाकै माग सम्बोधन गर्नेगरी छुट्टै अर्को सहमति गर्ने जाँगर सत्तारुढ कांग्रेस र एमालेका नेताहरुमा देखिदैन । सत्तारुढ नेताहरुको यस्तो शैलीले माओवादीकै नेताहरुमा तनाब बढेको छ । त्यसैले उनीहरुले संसदमा बोल्दा रास्वपा र राप्रपाको माग सम्बोधन गरिदिन सरकारसँग आग्रह गरेका गरै छन् ।साभार : अखप












