पोखरा – पोखरा फेवासिटी अस्पतालको एउटा क्याबिनमा उपचाररत दीनकर नेपाल बोल्दाबोल्दै भक्कानिए । रोक्न खोज्दा/खोज्दै उनका आँखाबाट आँसु झरिहाले । काँपेका ओंठबाट रोकिँदै-रोकिँदै शब्दहरू निस्के । केही वर्षयता युवा उद्यमशिलता, कृषि उत्पादन, युवा सोचको बहस चलाइरहेका दीनकर मंगलबार ३ असारमा निर्घात कुटिए । पारदर्शिताको सवाल उठाउँदा उनी वालिङ नगरपालिका-१० का वडाध्यक्षको आक्रमणमा परेका थिए । वडाध्यक्ष सुनिल खनालसहितले फलामको रड प्रहार गरेर उनको एउटा हात भाँचिदिएका छन् र अर्को हातमा गम्भीर चोट लागेको छ । हात केही दिनमा अप्रेसन गर्नुपर्ने चिकित्सकले बताएका छन् । जुन हातका औंला उठाउँदै उनले वालिङ नगरपालिका- १० मा भइरहेको आँधिखोला दोहनको प्रश्न गरेका थिए । सार्वजनिक गर्नुपर्ने दस्तावेजसमेत नपाएपछि झोलुंगे पुलैमुनिबाट मेसिन नै प्रयोग गरेर वालिङस्थित आँधिखोलामा दोहन भइरहेको थियो । त्यसैको विरुद्धमा कार्यक्रम गरेर फर्किँदै गरेका दीनकर र मेघ आलेमाथि वडाध्यक्षकै नेतृत्वमा आक्रमण भयो । दीनकरको खुट्टामा समेत चोट लागेको छ । पछिल्ला दुई दिनदेखि पोखराको फेवासिटी अस्पतालमा उपचार गराइरहेका दीनकर ज्यानै जानसक्ने आक्रमणपछि अझै असुरक्षित महसुस गरिरहेका छन् । घरी उनी समाजप्रति आक्रोशित हुन्छन् त घरी राजनीतिले अपराधलाई कसरी प्रसय दिइरहेको छ भनेर घोत्लिन्छन् ।
आँधिखोला संरक्षण अभियन्तालाई कुटपिटको आरोपमा एक पक्राउ, वडाध्यक्ष सम्पर्कविहीन:
जनप्रतिनिधिबाटै आक्रमण हुने कस्तो प्रतिशोधपूर्ण अवस्था निर्माण भयो, किन कोही जनप्रतिनिधिले कसैमाथि यसरी निर्घात कुटपिट गर्छ त ? दीनकर भावुक भए, भक्कानिए र भने, ‘हामो समाज यस्तो नबनोस् कि हतियार नउठाउने मान्छे, हात नउठाउने मान्छे बोल्न डराउन परोस् । हुन पनि दीनकर र मेघ आलेले प्रश्नमात्रै उठाएका हुन्, पारदर्शिताको सवाल निकालेका हुन् । जहाँ पुलमुनि उत्खनन् भइरहेको थियो र त्यो कुन आयोजनाका लागि गरिएको हो भन्ने कतै पनि सार्वजनिक सूचना टाँस गरिएको थिएन । केही दिनदेखि रातदिन उत्खनन् भएपछि नगरपालिकामा सूचना माग्न पुगेका उनीहरूलाई सजिलै दिइएन, सूचना हक प्रयोग गरेर १५ दिनपछि लिन भनियो । १५ दिनसम्म आँधिखोलाबाट धेरै नै उत्खनन हुने सोचेर उनीहरूले विरोध कार्यक्रम गरेर मोटरसाइकलमा फर्किँदै थिए । त्यही बेला उनीहरूमा आक्रमण भयो । फेरि पनि दीनकरले घटना सम्झिँदै भने, ‘म चाहन्छु, हाम्रो समाज यस्तो नबनोस् कि छुरा लिएर नहिँड्ने, खुकुरी नबोक्ने, बाउआमाका छोरीहरू घरबाट निस्कन डराउनु परोस् । नेपाली कांग्रेसबाट विजयी वडाध्यक्ष खनाल अहिले फरार छन् । आक्रमणमा संलग्न भएको आरोपमा अर्का साजन पंगेनी भने पक्राउ परेका छन् भने अन्य ८ जनाविरुद्ध जाहेरी परेको स्याङ्जाका एसपी दधिराम न्यौपानेले जानकारी दिए ।साभार : अखप












