काठमाडौं – नेपाल आयल निगममा तेल चोरीका घटना बढ्न थालेका छन् । यस्ता घटनामा निगमकै कर्मचारीहरू संलग्न हुने गरे पनि त्यस्ता कर्मचारी भने जोगिने गरेका छन् । निगम स्रोतका अनुसार ३० जेठ २०८२ मा थानकोट डिपोबाट अपरेसन अधिकृत गणेशराज जोशीले ना. ४ ख ९४२२ नम्बरको ट्यांकरमा थप ३ सय लिटर तेल बाहिर पठाएको खुलेको छ । उक्त ट्यांकरले सलम्बुदेवी आयल स्टोरका लागि २० हजार लिटर इन्धन ढुवानी गर्ने क्रममा बाटोमा रोकी च्याम्बरको मेनहोलबाट बाल्टिनमा खन्याइरहेको अवस्थामा समातिएको थियो । यसरी ट्यांकरले तेल चोर्दाचोर्दै कसैले कार्यालय प्रमुखलाई जानकारी गराएपछि निगमको बागमती प्रादेशिक कार्यालय प्रमुख तथा थानकोट डिपो प्रमुख अशोक साहले उक्त ट्यांकरका धनी मंगल ढुवानी सेवालाई १ असारमा स्पष्टीकरण सोधेका छन् । त्यसयता उक्त ट्यांकरलाई ढुवानी कार्यमा रोक लगाइएको छ । जबकि, डिपो प्रमुख र तेल डिस्प्याच गर्ने अधिकारीको संलग्नताविना यस्तो घटना हुनै नसक्ने आयल निगम स्रोत बताउँछ । तर, प्रादेशिक प्रमुख तथा डिपो प्रमुख साहले आफू ‘बच्न’ र अपरेसन अधिकृत जोशीलाई बचाउन निगमको मंगल ढुवानी सेवालाई १ असारमा तीन दिनभित्र स्पष्टीकरण बुझाउन भनेका थिए । स्पष्टीकरण पत्रमा निगमसँग ढुवानी सम्झौतामा रहेको २० हजार किलोलिटर क्षमताको उक्त नम्बरको ट्यांकर चालकले ३० जेठमा थानकोट डिपोबाट तेल लोड भएर गएपछि बाटोमा तेल चोरी गरेको उल्लेख छ । यस्तो गैरकानुनी काम गर्ने ट्यांकर चालकलाई पेट्रोलियम पदार्थ ढुवानी विनियमावली अनुसार कारबाही किन नगर्ने भन्दै निगमले तीन दिनभित्र स्पष्टीकरण पेस गर्न भनेको थियो । स्पष्टीकरण पेस नगरे निगमको ढुवानी विनियमावली अनुसार कारबाही गरिने प्रादेशिक कार्यालयको पत्रमा उल्लेख छ । आयल निगममा तेल चोरी भएको यो एक प्रतिनिधि घटनामात्र हो । यस्ता घटना निगममा सयौँ पटक भएका छन् । तर, निगम व्यवस्थापनका उच्च अधिकारीहरूको ‘मिलेमतो’ मै हुने गरेका अधिकांश तेल चोरीका घटनामा ट्यांकर चालक र खलाँसीलाई मात्र कारबाही हुने गरे पनि संलग्न निगमकै कर्मचारीहरू भने उम्किने गरेको पाइन्छ । यसरी चोरी गरी बाहिर पठाएको तेल ट्यांकर चालकले आफूसँग सम्पर्कमा भएको राजधानी र आसपास पम्पमा केही सस्तो मूल्यमा बिक्री गर्छन् । यसरी बिक्रीबाट प्राप्त रकम निगम उच्च तहका कर्मचारीका भागमा पनि पुग्ने गरेको छ ।
आयल निगम के भन्छ ?
आयल निगमको बागमती प्रादेशिक कार्यालय थानकोट डिपो प्रमुख अशोक साहसँग तेल चोरीको घटनाबारे सोध्दा उनले यो सरासर र झुटो भएको दाबी गरे । उनले तेल चोरीको कुनै घटना नै नभएको अडान लिए । त्यसपछि अनलाइनखबरले तेल चोरीमा प्रयोग गरिएको ट्यांकरको नम्बर र ट्यांकर ढुवानी कम्पनीको नाम तथा डिपो प्रमुख साहकै हस्ताक्षरमा जारी भएको स्पष्टीकरण पत्रबारे सोधेपछि भने उनले घटना भएको स्वीकारे । तेल लिएर फर्ममा जाँदा उक्त ट्यांकरको खलाँसीले तेल निकाल्दै गरेको अवस्थामा भेटेपछि डिलरले नै फोन गरेर हामीलाई जानकारी दिएको थियो,’ उनले भने, ‘त्यसपछि हामीले खलाँसीलाई किन तेल चोरेको भनेर स्पष्टीकरण सोधेर कारबाही गरेका हौं । स्पष्टीकरणमा ड्राइभरले नै आफूलाई थाहा नभएको र खलाँसीले चोरेको भनेका छन् । खलाँसीलाई हामीले निकालिसक्यौं । डिपो प्रमुख साहले तेल भरेर डिपोबाट ट्यांकर बाहिरिएपछि निगमको जिम्मेवारी नहुने तर्क गरे । यस्तै आयल निगमका प्रवक्ता मनोज ठाकुरसँग यस घटनाबारे बुझ्दा उनले आफूलाई कुनै जानकारी र विवरण प्राप्त नभएको बताए ।साभार : अखप












