काठमाडौं – सावित्रा भण्डारीको कप्तानी डेब्युमा ह्याट्रिक अनि १००औं अन्तर्राष्ट्रिय खेलमा नेपालको सानदार जित । नयाँ प्रतिद्वन्दी लाओसलाई ९-० को फराकिलो अन्तरले पराजित गर्दै उज्वेकिस्तानमा नेपालले एएफसी महिला एसियन कप छनोटमा आइतबार विजयी सुरुवात गरेको छ । छनोटको समूह एफको पहिलो खेलमा सानदार जितसहित १००औं अन्तर्राष्ट्रिय खेललाई पनि ऐतिहासिक बनाएको छ । यसै खेलबाट गोलमेसिन सावित्राले नेपालका लागि कप्तानी डेब्यु गरिन् । उनले उज्वेकिस्तानको गर्मीमा कप्तानी डेब्युमै ४ गोल ठोकिन् । यस्तै नेपालको बेल्जियन मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले पनि राष्ट्रिय टिम डेब्युमा जितको स्वाद चाखे । तास्केन्तमा नेपालका लागि सावित्राले ४ गोल गर्दा अनिता बस्नेत, सरु लिम्बु, रश्मिकुमारी घिसिङ र अनिता केसीले १-१ गोल गरे । लाओसले एक आत्मघाती गोल नेपाललाई उपहार दिएको थियो । यसै खेलमार्फत मिडपिल्डर सरस्वती हमालले नेपाली महिला राष्ट्रिय टोलीमा डेब्यु गरिन् । मुख्य प्रशिक्षक वाइल्डले फराकिलो जितले खुशी बनाएको बताए । उनले हरेक खेललाई स्टेप बाई स्टेप लिने बताए । यस्तै मैदानमा उत्रेका र बाहिरका सबै खेलाडीहरूबाट आफू प्राउड रहेको पनि बताए । अट्याकिङ फुटबल खेल्ने कोचको रणनीति अनुसार खेलेको र ९-० स्कोर आएको रेनुका नगरकोटेले बताइन् । उनले समग्रमा खेल राम्रो भएपनि स्कोरिङमा अझ कमजोरी रहेको बताइन् । मुख्य खेल उज्वेकिस्तानसँग भएपनि एक पटकमा एक खेललाई सोचेर अघि बढ्ने उनले बताइन् । रेनुकाले मुख्य लक्ष्य एसियन कपमा छनोट हुने रहेकोले सबैजना मोटिभेट भएर खेलिरहेको बताइन् । पहिलो हाफमा दुई गोल गरेको नेपालले दोस्रो हाफमा ७ गोल थपेको थियो । अनिता बस्नेतले १२औं मिनेटमा सविता रना मगरको हेडर पासमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । सावित्राले ४४औं मिनेटमा अनिता बस्नतेकै क्रसमा गोल गर्दै अग्रता दोब्बर पारिन् । दोस्रो हाफको दोस्रो मिनेटदेखि नै नेपालले गोल गर्न थाल्यो । आफ्नो ५०औं अन्तर्राष्ट्रिय खेल खेलेकी सरुले ४७औं मिनेटमा गोल गर्दै नेपालको अग्रता तेब्बर पारिन् । सावित्राले ५५औं मिनेटमा आफ्नो दोस्रो गोल गरिन् । उनले ७५औं मिनेटमा ह्याट्रिक पूरा गरिन् भने त्यसको एक मिनेटपछि व्यक्तिगत चौथो गोल गरिन् । रश्मीले ५६औं र अनिता केसीले ८३औं मिनेटमा गोल गरिन् । नेपालले ८८औं मिनेटमा नवौं गोल गर्यो । सावित्राले हानेको प्रहार लाओसका खेलाडीलाई डिफ्लेक्ट हुँदै गोल भएको थियो ।साभार : अखप