केपी ओली र पेद्रो सान्चेजबीच द्विपक्षीय भेटवार्ता…..

बार्सिलोना –      प्रधानमन्त्री केपी शर्मा ओली र स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजबीच आइतबार साँझ सेभियामा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ । करिब आधा घण्टा चलेको छलफलमा पर्यटन, व्यापार, जलवायु परिवर्तन र कूटनीतिक सम्बन्ध विस्तारका विषयमा गहिरो कुराकानी भएको थियो। आइतबार बिहान म्याड्रिड आइपुगेका प्रधानमन्त्री ओली अत्याधुनिक उच्च गतिको रेलमार्ग प्रयोग गर्दै दिउँसो सेभिया पुगेका थिए । भेटमा नेपालका तर्फबाट स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल,राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि लोकबहादुर थापालगायत सहभागी थिए। भेटपछि अनलाइनखबरसँग कुरा गर्दै राजदूत नेपालले भने, ‘सम्मानीय प्रधानमन्त्रीज्यूले स्पेनमा नेपाली राजदूतावास स्थापना भइसकेको उल्लेख गर्दै नेपालमा पनि दूतावास खोल्न स्पेनी समकक्षीसँग अनुरोध गर्नुभयो । प्रधानमन्त्री ओलीले ‘सगरमाथा संवाद’बारे जानकारी गराउँदै जलवायु परिवर्तनको विषयमा नेपालको नेतृत्व र पहललाई प्रस्ट पारेका थिए । उक्त प्रयासको प्रशंसा गर्दै प्रधानमन्त्री सान्चेजले ‘नेपालको आवाजलाई साथ दिन तयार छौं’ भन्ने आश्वासन दिएका थिए। भेटमा सान्चेजले आफू नेपाल भ्रमणका लागि इच्छुक रहेको जनाएपछि प्रधानमन्त्री ओलीले उनलाई निमन्त्रणा दिएका थिए । ‘स्पेनबाट नेपाल जाने स्पेनी पर्यटकको संख्या हरेक वर्ष बढिरहेको छ, र त्यो संख्या अझै बढ्नेमा आशावादी छु,’ प्रधानमन्त्री सान्चेजले बताएको राजदूत नेपालले जानकारी दिए। प्रधानमन्त्रीस्तरीय भेटवार्ता सन् २०१८ मा स्पेनमा नेपाली दूतावास स्थापना भएपछि पहिलोपटक भएको हो।साभार : अखप

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार