काठमाडौं – नेपाल मेडिकल काउन्सिलले दोषी नदेखेको घटनामा उपभोक्ता अदालतले दोषी ठहर गर्यो । उपचारमा संलग्न चिकित्सकको लापरबाहीलाई काउन्सिलले उन्मुक्ति दिँदै गरेको निर्णय अदालतले उल्ट्याइदिएको हो । यो सँगै चिकित्सकले काउन्सिलको अधिकारमाथि हस्तक्षेप गरेको भन्दै उपभोक्ता अदालतको फैसलामा गम्भीर प्रश्न उठाएका छन् । नेपाल चिकित्सक संघ कार्यकारी समितिले सोमबारबाट देशभरको आकस्मिक बाहेकको सम्पूर्ण सेवा बन्द गर्ने, काउन्सिलको प्रमाणपत्र उतै बुझाउने लगायतका आन्दोलन घोषणा गरेका छन् । यसले पुन: चिकित्सकहरू सडकमा उत्रने निश्चित भएको छ ।
यही फैसलासँग सम्बन्धित तीनवटा घटनाक्रम हेरौं:
२०७९ माघ २३ गंगा गौतम २८ महिनाकी छोरी प्रशंसालाई लिएर काठमाडौंको ज्ञानेश्वरस्थित हिमाल अस्पताल पुगेकी थिइन् । बाल रोग विशेषज्ञ डा. जयदेव यादवले बालिकाको स्वास्थ्य परीक्षण गरे । तर बालिकाको स्वास्थ्य अवस्था सुधार नहुँदै उल्टै बिग्रँदै गएपछि परिवारले कान्ति बाल अस्पताल लगियो । दुर्भाग्यवश, कान्ति बाल अस्पतालले उपचार नगरी आकस्मिक कक्षबाटै फर्काइदिएको थियो । त्यसपछि गंगाले छोरीलाई मेट्रो अस्पताल पुर्याइन् । फोक्सोमा अत्यधिक पानी जम्न गएको अवस्थामा माघ २६ गते मेट्रो अस्पतालमा उपचारका क्रममा बालिकाको मृत्यु भयो । तर, यो प्रकरणमा मेडिकल काउन्सिलले पनि उपचारमा संलग्न चिकित्सक यादवलाई सामान्य चेतावनी मात्रै दियो । काउन्सिलले अबदेखि हुने यस्ता उपचारमा स्तरीय उपचार विधि प्रयोग गर्न सुझाव दिँदै डा. यादवलाई उन्मुक्ति दिएको थियो । तर, १२ असारमा उपभोक्ता अदालतले डा. जयदेव यादव र हिमाल अस्पताललाई १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिराउन आदेश दियो । काउन्सिलको निर्णयमा चित्त नबुझाउँदै गंगा जिल्ला अदालत काठमाडौं पुगेकी थिइन् । पछि उपभोक्ता अदालत गठन भएसँगै यो मुद्दा पनि त्यतै सरेको थियो । गंगाजस्तै, चिकित्सककै लापरबाहीको आरोप लगाउँदै २८ वर्षीया वर्षा भण्डारी पनि अदालत पुगिन् । वर्षाका अनुसार, चिकित्सकले दुईपटकसम्म अप्रेसन गर्दा पनि आफूले गर्न लागेको ‘प्लास्टिक सर्जरी’ बिग्रिएको थियो । उनले ग्रान्डि अस्पतालमा सर्जरी गराएकी थिइन् । निको हुनुको साटो संक्रमण भएर थप पीडा बढेको भन्दै उनले मुद्दा दायर गरेकी थिइन् । सवा ३ करोड मागदाबी लिएर अदालत गएकी वर्षाको पक्षमा उपभोक्ता अदालतले ५७ लाख १९ हजार क्षतिपूर्तीको फैसला गरिदियो । त्यसमध्ये ७० प्रतिशत अर्थात् ४० लाख ३ हजार उपचारमा संलग्न डा. सञ्जीव त्रिपाठी र ३० प्रतिशत अर्थात् १७ लाख १५ हजार ग्रान्डी अस्पतालले बेहोर्नुपर्ने फैसलामा उल्लेख छ । यस्तै प्रकृतिका अर्को घटना छ, चाबहिलस्थित ओम अस्पतालको । बाबुको उपचारमा लापरवाही भएको भन्दै बसन्त गौतमले अस्पताल र संलग्न दुई चिकित्सकविरुद्ध मुद्दा दायर गरेका थिए ।साभार : अखप












