काठमाडौं – ‘यो टिमले यतिका वर्षसम्म खेलिसक्यो । मैले भन्दै आएको छु, अहिलेको जस्तो टिम बन्न समय लाग्छ । अर्को ५-६ वर्ष लाग्छ । नेपाली फुटबलमा केही गर्छ भने यही टिमले गर्छ । यो टिमले रिजल्ट दिन सक्छ भन्ने सबैले देखेको छ । आशा पनि छ’ नेपाली राष्ट्रिय महिला फुटबल टिमले उज्बेकिस्तानमा एएफसी महिला एसियन कप छनोटको यात्रा सुरु गर्नुअघि पूर्व कप्तान अनु लामाले यसो भनेकी थिइन् । हाम्रो लागि अहिले गोल्डेन चान्स छ । यो पाली गर्यो भने गर्यो नभए पछि गर्छु भनेपनि झन् कठिन हुन्छ । किनभने नयाँ टिम बनाउनुपर्छ, त्यसका लागि समय लाग्छ’ उनले भनेकी छन् । अनुले भने जस्तै नतिजा दिनका लागि नेपाली महिला टोली अब एक खेल मात्र टाढा छ । अर्को अर्थमा भन्दा एक जित टाढा छ । अहिले सबैको नजर एसियन कप छनोट अन्तर्गत शनिबार तास्केन्तमा हुने घरेलु टोली उज्वेकिस्तान विरुद्धको खेलमा छ । यो खेल नेपाली महिला फुटबलको लागि पर्खाईको खेल हुनेछ । भविष्य जोडिएको खेल हुनेछ र यही खेलले नेपाली महिला फुटबल टोलीले अब कस्तो यात्रा गर्ने भनेर भविष्य निर्धारण गर्न सक्छ । नेपाली महिला फुटबल मात्र नभएर अहिले खेलिरहेका ‘सुनौलो पुस्ता’ टिमका खेलाडीहरूको लागि भविष्य जोडिएको छ । त्यसैले अहिले सबैले उज्बेकिस्तान विरुद्ध हुने खेललाई निकै महत्व र चासोका साथ हेरेका छन् ।
किनभने छनोटको समूह एफ अन्तर्गत नेपाल र उज्बेकिस्तानबीच हुने खेलबाट समूह विजेताको टुङ्गो लाग्नेछ र त्यही टोली अर्को वर्ष अष्ट्रेलियामा हुने एएफसी महिला एसियन कपमा छनोट हुनेछ । हार्ने टिम छनोटबाटै बाहिरिनेछ । एसियन कप खेल्नका लागि नेपाल २६ वर्ष देखि प्रतीक्षा गरिरहेको छ भने उज्बेकिस्तान पनि २२ वर्षपछि फेरि एसियन कप पुग्ने अभियानमा छ । नेपालले पछिल्लो पटक सन् १९९९ मा महिला एसियन कप खेलेको थियो । त्यो बेला नेपालकै समूहमा रहेको उज्बेकिस्तानले सन् २००१ र २००३ मा पनि महिला एसियन कप खेलेको थियो । नेपालकी कप्तान सावित्रा भण्डारीले लगातार दुई खेल जितेपछि अन्तिम खेलमा उज्वेकिस्तानसँग फाइट गर्न तयार रहेको बताएकी थिइन् । उनले चुनौती सामना गर्न तयार रहेको बताएकी थिइन् । ‘निश्चय पनि दुई खेल खेलिरहँदा हामीसँग ६ अंक छ । टिममा सबैसँग पोजिटिभ मेन्टालिटी छ’ उनी भन्छिन्, ‘अब मुख्य चुनौती बाँकी छ र त्यो चुनौतीलाई स्वीकार गरेर हामी फाइट गर्न रेडी छौं । उज्बेकिस्तान महिला टिमकी कप्तान ल्युदमिला काराचिकले एसियन कपमा छनोट हुने लक्ष्यसहित नेपालविरुद्ध खेल्ने बताएकी छन् । ‘हरेक खेल कठिन हुन्छ । नेपाल पनि एसियन कपका लागि छनोट हुन चाहन्छ, हामी एसियन कपको टिकट काट्ने लक्ष्यसहित मैदानमा उत्रनेछौं’ लाओसलाई हराएपछि उनले भनेकी छन् । नेपाल र उज्बेकिस्तान दुवै समूह विजेता बन्दै अष्ट्रेलियामा हुने एसियन कपमा छनोट हुने अभियानमा छन् । तर त्यसमा एउटा टिम मात्र सफल हुनेछ । त्यसैले यो खेल रोमाञ्चक, प्रतिस्पर्धात्मक र हेर्नलायक पनि हुनेछ । किनभने यसअघि दुवैले तुलनात्मक रुपमा पनि कमजोर टिमलाई पराजित गरेकोले असली खेल अब देखिनेछ । फिफा वरियतामा उज्बकिस्तान नेपाल भन्दा ४९ स्थान माथि भएपनि अहिलेको प्रदर्शन हेर्दा उस्तै किसिमको देखिएको छ । उज्बेकिस्तान ५१औं र नेपाल १००औं वरियतामा छ । पूर्व कप्तान अनुले छनोट सुरु हुनुअघि नै वरियतामा माथि भएपनि त्यसले धेरै फरक नपार्ने बताएकी थिइन् ।साभार : अखप