सवारी आयातमा सिन्डिकेटलाई कानुनी मान्यता दिँदै सरकार…..

काठमाडौँ –      एउटा चर्चित चिनियाँ ब्रान्डको पछिल्लो पटक भित्रिएको ५०–१०० किलोवाट क्षमताको विद्युतीय गाडीको मूल्य चिनियाँ खुद्रा बजारमा अहिले १ लाख १९ हजार चिनियाँ युआन (आरएमबी) छ । ढुवानी खर्च, बीमा सहित लागत बोर्डरसम्म आइपुग्न यसको लागत मूल्यको करिब १० प्रतिशत लाग्छ । यसो गर्दा कुल मूल्य १ लाख ३१ हजार जति हुन आउँछ । यसलाई सीआईएफ मूल्य भनिन्छ । यो भनेको नेपालीमा करिब २५ लाख रुपैयाँ हो । नेपाली बोर्डरसम्मै २५ लाख रुपैयाँमा आइपुग्ने उक्त गाडी नेपालको शोरुममा भने ६५ लाख रुपैयाँको सुरुवाती मूल्यमा बिक्री हुँदै आएको छ । यसरी हेर्दा नेपालमा मात्रै यसको मूल्य करिब ४० लाखले बढ्ने देखिन्छ । यसमा सरकारी कर तथा शुल्क, डिलरको नाफा लगायत विषय समावेश हुने गरेका छन् । यसका लाग्ने खर्चलाई विभाजन गरेर हेरौँ । अहिलेको आर्थिक ऐन अनुसार नेपालमा भित्रिने गाडीका लागि भन्सार विन्दुमा चारथरी कर लाग्छ– भन्सार, अन्तशुल्क, सडक मर्मत शुल्क र मूल्य अभिवृद्धि कर । यो क्षमताको गाडीको लागि अहिले करका यी दर क्रमशः २० प्रतिशत र १५ प्रतिशत, ५ प्रतिशत र १३ प्रतिशत रहेका छन् । २५ लाख मूल्यको गाडीमा यी कर चक्रीय रूपमा लगाउँदा यसको मूल्य यसको लागत मूल्य ४० लाख ९३ हजार रुपैयाँ हुन आउँछ । यीबाहेक प्रदेशले सवारी दर्ता र वार्षिक करको केही शुल्क तिर्नुपर्छ । प्रदेश कानुन अनुसार फरक फरक हुने यो शुल्क खासै धेरै हुँदैन । अहिले अधिकांश प्रदेशले यो विद्युतीय सवारीको दर्ताका लागि १५०० रुपैयाँ, इम्बोस्ट नम्बर प्लेटका लागि ३५०० रुपैयाँ तथा वार्षिक सवारी कर १५ हजार रुपैयाँ लिने गरेका छन् । यसबाहेक बीमा लगायत सबै प्रक्रियाका लाग्ने शुल्क समेत जोड्दा पनि लागत ४१ लाख ५० हजार रुपैयाँभन्दा धेरै हुँदैन । बाँकी करिब २४ लाख रुपैयाँ भने सवारी साधनको मूल्य र करबाहेकको लागत हो । त्यसो त, माथि उल्लेख गरिएको आरएमबी मूल्य चिनियाँ बजारको मूल्य हो । गाडी बिक्रेता कम्पनीले ‘फ्याक्ट्री मूल्य’मा गाडी ल्याउने भएकोले त्योभन्दा कम मूल्यमा प्राप्त गर्नसक्ने अवस्था देखिन्छ । यसले उनीहरूको नाफा थप बढाउँछ । साभार :रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार