मन्त्रीको घुस डिलबारे माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ…..

काठमाडौं –      नेकपा माओवादी केन्द्रले कर्मचारी सरुवामा मन्त्रीबाटै घुस डिल भइरहेको भनेर आएका समाचारको विषयमा सरकारको जवाफ मागेको छ । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले यस विषयमा प्रधानमन्त्रीको जवाफ मागेकी हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीज्यू र भूमि व्यवस्थामन्त्रीले कर्मचारी सरुवामा ७८ लाख डिल गरेको भन्ने समाचारहरू बाहिर आइरहेका छन् । यो विषयमा के भएको हो ?,’ पूर्वमन्त्री समेत रहेकी शर्माले भनिन्, ‘सम्मानीय प्रधानमन्त्रीज्यूलाई संसद्‍मा जानकारी गराउन अनुरोध गर्न चाहान्छु सभामुख मार्फत् । यसको छानबिन गरेर दोषी जोसुकै होस् उसमाथि कडाभन्दा कडा कारबाही गरियोस् भनेर माग पनि उनले गरिन् । ‘अन्यथा सरकारको एक वर्षको उपलब्धि यही हुनेछ भन्ने कुरा पनि राख्न चाहान्छु,’ शर्माले भनिन् । दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद शर्माले घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य बिमाको हकमा रेफरल सेन्टर बनाइएकोमा पनि आपत्ति जनाइन् । आफ्नो आँगनको हस्पिटल छोडेर २४/२५ किलोमिटर टाढा रिफर गराउन जानुपर्ने अवस्थामा पुर्‍याइएको छ,’ उनले भनिन्, ‘यसको निम्ति म विरोध गर्दछु, दु:ख प्रकट गर्दछु र म तुरुन्तै सभामुख मार्फत् सरकारले यो निर्णय तत्काल सच्याओस् भनेर गम्भीर ध्यानाकर्षण गराउँछु । बीमित बिरामीलाई थप कष्ट दिने काम नगरियोस् । पूर्वमन्त्री शर्माले आज बिहान काठमाडौंबाट दाङ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना हुँदा घाइते भएकाहरूको उपचारको उचित प्रबन्ध मिलाउन पनि सरकारको ध्यानाकर्षण गराइन् ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार