२१ जुलाई, २०२५, युके । किरात याक्थुङ चुम्लुङ युकेले विभिन्न कार्यक्रम सहित याक्थुङ लिम्बूहरुको महान चाड सिसेक्पा तङनाम याल्डिङ मेडीस्टोन केन्टमा शनिबार १९ जुलाई २०२५ मा कमला सेन्दाङ लिम्बूको अध्यक्षता र जर्मनीका लागि पूर्वराजदूत डा.नोवलकिशोर राईको प्रमुख आतिथ्यतामा भब्यताको साथ सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्दै अतिथिहरुले ‘सि’ मृत्यु, ‘साक’ अनिकाल, ‘साक्मा’ छेक्ने आदि अवस्थाका शब्दहरु मिलेर सिसेक्पा बनेको हो । सिसेक्पा तङनाम जीवन र संकटबीचको संघर्षलाई समेट्ने तङनाम हो । अनिकालबाट मानिसको मृत्यु हुन्छ । मृत्युदेखि बच्न अनिकाल खेद्नु पर्यो । मृत्यु सँगको सामना गर्ने उपाय, र अनिकाल जस्तो संकट रोक्ने प्रयास दुवै धारणा जीवनको गहिरो सन्देश बोकेका छन् । यो हाम्रो इतिहास, सीप, सामूहिक चेतना र विज्ञानप्रतिको समझदारीको प्रतीक र एक प्रकारको चेतनात्मक अभ्यास पनि हो । यसले सामाजिक एकता, आत्मबल र व्यवहारिक बुद्धिमत्तालाई समेत बलियो बनाउने बताउनु भयो ।
असारको अन्त्यतिर अन्नबाली पाक्न थाल्छन् । रोगव्याध र प्राकृतिक प्रकोप कम हुँदै गएपछि कृषकहरूमा राहतको सास फेर्ने समय आउँछ । सिसेक्पा तङनाम त्यही खुसी र आशाको प्रतिक हो । यो पर्व वर्षभरको कठिन परिश्रमको समाप्ती, बाँचेर आएको सुखद अनुभूति, र आगामी दिनप्रति आस्था र शुभकामनाको संकेत पनि हो । सिसेक्पा तङनामलाई कृषकहरूको आर्थिक वर्षको अन्त्य र नयाँ आर्थिक वर्षको सुरुवातको रूपमा पनि हेर्न सकिन्छ । दिन छोटिंदै जानु, अन्नबाली पाक्दै जानु र मौसम अनुकूल बन्नु यस पर्वसँग गहिरो सम्बन्ध राख्दछ । यस चाडको माध्यमबाट याक्थुङ समुदायले प्रकृतिको संरक्षण, परिश्रमको सम्मान र समुदायमा आपसी मेलमिलापको भावना प्रवाह गर्ने कार्य गर्छन् ।
मूलतः याक्थुङ चाडपर्वहरु पुर्खा, प्रकृति र कृषि सम्बन्धित छन् । खासगरी कृषि चक्र अनुसार विभिन्न समयमा मनाइने तङनामहरुको आफ्नै महत्व छन् । चासोक तङ्नाम याक्थुङ लिम्बू समाजको सामाजिक एकता, प्रकृति र एकापसको सम्पुर्णतामा डोर्याउने सामाजिक र सांस्कृतिक चाड हो । प्राणीजगतलाई बचाउने अन्नबालीको मालिक (प्रकृति)लाई सम्झँदै सामाजिक र पारिवारिक सद्भाव कायम राख्दै एकापसमा सुख, शान्ति र समृद्धिको कामना गरिन्छ ।
व्यक्ति, परिवार र समाजमा भएका रोगव्याध, रिसराग, दुर्भाग्य आदि नकारात्मक पक्षहरूलाई भगाउने र समृद्धि, सहकाल, स्वास्थ्य, नयाँ अवसरहरूलाई स्वागत हो । घर वरिपरि घुमिसकेपछि साक्नाम च्योङ विसर्जन गर्न घरको पश्चिम तिर नजिकैको दोबाटो – चौबाटो वा खोल्सामा पुगिन्छ । त्यहाँ एउटा रेखा कोरिन्छ । त्यो रेखा प्रतिकात्मक रूपमा सहकाल र अनिकाल बीचको सीमारेखा मानिन्छ । त्यसपछि हातमा सिदिंग्वा, युक्मिबा, सिस्नुजस्ता हतियार लिएर अनिकाललाई सो रेखाबाट प्रवेश निषेध गरिएको मुन्धुममा चेतावनी दिइन्छ । खुट्टाको कुर्कुच्चालाई भुइँमा थेचारे झैँ गर्दै, अनिकाल जाऊ है, परपर जाऊ है, फेरि फर्केर नआऊ है, यता नआऊ है, अटेर गरेमा अगुल्टोले हान्छौं, काँडाले घोची दिन्छौं, भाग है भनी थुपारिएको आगोलाई भुरभुर पार्दै अनिकाललाई बाटो छेक्ने काम गरिन्छ ।
सिसेक्पा तङ्नामकै अवसरमा यलम्बरहाङ अवार्ड जीवन प्यारा मादेनलाई, आर्टिस् अफ द इयर नेम खापुङलाई र चुम्लुङ अवार्ड रत्न लाबुङलाई प्रदान गरिएको थियो । चुम्लुङ युकेलाई आर्थिक, भौतिक, बौद्धिक लगायत विभिन्न कोणबाट सहयोग गर्ने व्यक्तित्वहरुलाई अवार्डहरु प्रदान गरियो । त्यसैगरी शैक्षिक क्षेत्रमा मास्टर्स, ग्राजुएसन गर्ने विद्यार्थीहरुलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो ।
लिम्बू भेषभुशा उत्कृस्ट २ पुरुष र २ महिला जम्मा ४ जनालाई खदा र सम्मान पत्रले सम्मान गरिएको थियो ।
संस्कृतिमा आधारित लोकप्रिय यालाङ (धान नाच)र केलाङ (च्याब्रुङ नाच) को शाखा शाखा बीच बेजोड प्रस्तुतीका साथ प्रतिस्पर्धा गराइएको थियो । ग्रेटर लन्डन सिनियर शाखा च्याम्पियन हुन सफल भयो भने थोरक ग्रेज शाखा फस्ट रनरअप र च्याब्रुङ समूह रिडिङ वर्कसायर सेकेन्ड रनरअप बने ।
मनोरञ्जनात्मक कार्यक्रममा नेपालबाट आएका कलाकारहरु गायक दीपक लिम्बू, गायक धनबहादुर लिम्बुले नेपाली गीत र गायिका निरन्ता नेम्बाङले पालाम गाएर माहोल तताएका थिए । मोडेल एवं डान्सर रेखा लिम्बू फागो, स्थानीय कलाकारहरु आशा चोङबाङ लिम्बू, डीना राई, नुमा तेयुङ, क्यारोल माबो, नामओती आङ्बुहाङ जेसा तुम्बाहाङ्फेले नृत्य आदि प्रस्तुत गरी उपस्थित महानुभावहरुलाइ भरपुर मनोरञ्जन दिलाएका थिए ।
सुरक्षा तथा सेफ्टी ब्रिफ उपाध्यक्ष सन्त हुक्पा चोङबाङले र स्वागत मन्तव्य उपाध्यक्ष राजेन्द्र लाबुङले राखेका थिए । औपचारिक कार्यक्रम महासचिव महेश वनेमले सञ्चालन गरेका थिए भने यालाङ केलाङ प्रतियोगिता र मनोरञ्जनात्मक कार्यक्रम उपाध्यक्ष सानु सुब्बाले सञ्चालन गरेकी थिइन् ।













