रसुवागढीको मितेरी पुल बगाएपछि चीनले थाल्यो बेलिब्रिज निर्माण…..

काठमाडौँ –     नेपाल–चीन जोड्ने रसुवागढीको मितेरी पुल बाढीले बगाएपछि यतिबेला रसुवागढी नाकाबाट हुने आपूर्ति ठप्प छ । दसैँअघि नै यातायात सुचारु गर्ने लक्ष्यसहित अस्थायी बेलिब्रिज निर्माण थालेको चिनियाँ राजदूतावासले जनाएको छ । नेपालस्थित चिनियाँ राजदूतावासले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत अस्थायी पुल निर्माण भइरहेको जानकारी गराएको गराएको छ । जसले बेलिब्रिज बन्नेमा आशा जगाएको छ । दसैँअघि यातायात सञ्चालनमा आउने गरी काम भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । तर व्यवसायी भने भौगोलिक जटिलता र मनसुनका कारण तोकिएको समयमा पुल बनेर सामान आयात गर्न सकिनेमा आशंका व्यक्त गर्छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष मनोजबाबु श्रेष्ठले दसैँ अघि सञ्चालन आउने सम्भावना न्यून रहेको बताए । यो पुल लामो र असहज ठाउँमा छ । स्वाट्टै बेलिब्रिज ल्याएर राख्ने अवस्था पनि छैन । त्यसमाथि अहिले बर्खाको समय छ,बेलिब्रिज जडान गर्न पहिला संरचना मिलाउनुपर्ने होला । बाढी आइरहेकाले समस्या छ,’ श्रेष्ठ भन्छन्, ‘त्यसकारण दसैँअघि बेलिब्रिज जडान भएपनि आवश्यक वस्तु आयात गर्न पाइने अवस्था एकदम कम छ । तातोपानी नाका हुँदै आयात गर्न बाटो असहज छ । दसैँअघि रसुवागढी नाका सञ्चालन नभए चाडपर्वको व्यापार व्यवसाय प्रभावित हुने उनको भनाइ छ ।

तातोपानी हुँदै आयात थालियो:

अहिले रसुवागढी नाका ठप्प छ । वस्तु लोड भएर नेपालतर्फ आउँदै गरेका चीनको बोर्डरमा रहेका कन्टेनर तातोपानी नाकाहुँदै ल्याउन थालिएको श्रेष्ठले बताए । उनकाअनुसार अहिले चीनको नाका पारीपट्टि भएका कन्टेनर तातोपानीतर्फ लैजान थालिएको छ । उक्त कन्टेनर तातोपानी पुर्‍याउन तीन दिन लाग्छ । तातोपानीदेखि काठमाडौँसम्म ल्याउन करिब १०/१२ घण्टा लाग्छ । रसुवाबाट काठमाडौँ लैजान पनि उत्तिकै समय खर्च हुने गरेको थियो । तर तातोपानीतर्फको बाटो सहज नभएकाले रसुवा नाका हुँदै सामान आयात गरिएको बताउँछन् । चाइना बोर्डरमै पारिपट्टि कस्टममा रहेको सामान फर्काएर लान थालिएको छ । त्यहाँबाट लगभग तीन दिनमा फर्केर तातोपानी भन्सार आउन सकिन्छ । गाडीहरू कति फिर्ता गरिसकेको छ,’ उनले भने, ‘त्यहाँ आएको सामानहरू यता नआउने भनेपछि त्यहाँबाट चाइनाले फर्काएर अर्को ड्राइपोर्टमा लगिराखेको छ ।

क्षति यकिन भएन:

गत असार २४ गते बिहानै आएको बाढीले चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी जोड्ने सडक र मितेरी पुल क्षतविक्षत बनाएको थियो । चीनतर्फबाट आएको बाढीले गोसाईंकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्रमा वितण्डा मच्चाउँदा ठुलो जनधनको क्षति भएको छ । यति नै क्षति भयो भन्ने यकिन तथ्याङ्क अझै निकालिएको छैन । डाइपोर्टमा राखेका ईभी, मालवस्तुसहित कन्टेनर बगाउँदा व्यवसायीहरूले ठुलो क्षति भोग्नु परेको छ । अहिलेसम्म बिमितहरूले २९ करोड बराबरको क्षतिपूर्ति मागदाबी गरेका छन् । अझै ठुलो मागदाबी हुन सक्ने व्यवसायीहरू बताउँछन् ।साभार :रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार