काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पहिलो पटक नेकपा एमालेको पूर्वउपाध्यक्षको हैसियतमा सार्वजनिक भएकी छन् । शुक्रबार दिउँसो भण्डारीले एमाले पूर्वउपाध्यक्षको हैसियतमा पत्रकार सम्मेलन गरिन् । ११ कात्तिक २०७२ मा राष्ट्रपति हुनुअघि उनी एमाले उपाध्यक्ष थिइन् । दोस्रो कार्यकाल पार्टी उपाध्यक्ष रहेकी भण्डारीलाई एमालेले राष्ट्रपति बनाएर शीतलनिवास पठाएको थियो । राष्ट्रपतिमा पनि दुई कार्यकाल सकेर २०७९ फागुनमा शीतलनिवासबाट फर्किएकी भण्डारीले गत १४ असारमा एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् । मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसर पारेर भण्डारीले सदस्यता नवीकरण गरेको घोषणा गरेपछि एमालेभित्रको शक्ति संघर्ष नै बदलिएको थियो । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सहितका नेताहरुलाई भण्डारी सक्रिय राजनीतिमा फर्किएको मन परेको थिएन । ओलीले त सार्वजनिक मञ्चबाटै पटकपटक अझै २०/२५ वर्ष नेतृत्व नछोड्ने घोषणा गरेका थिए । ओलीलाई आजीवन अध्यक्ष हुन मिल्नेगरी एमालेको विधानहरू संशोधन गरिंदै थियो । तर भण्डारीको चुनौती रोकिएन, बरू अध्यक्ष बन्नेगरी राजनीतिमा फर्किएको सन्देश सार्वजनिक गरिन् । यस्तैमा मंगलबार मध्यरात सम्पन्न केन्द्रीय कमिटी बैठकबाट भण्डारीलाई राजनीतिमा आउन रोक लगाउने निर्णय भयो । उपाध्यक्षहरु युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे र स्थायी कमिटी सदस्य कर्ण थापाले असहमतिमा आवाज उठाइरहँदा हो-हल्लाकै बीच भण्डारीलाई राजनीतिमा आउन रोक लगाइएको निर्णय भयो । भोलिपल्ट महासचिव शंकर पोखरेलले पत्रकार सम्मेलन मार्फत विद्या भण्डारीको पार्टी सदस्यता निष्क्रिय भएको जानकारी दिए । २०३७ सालमा भण्डारीले पाएको ६४४ नम्बरको पार्टी सदस्यता एमालेको वेबसाइटबाटै हटाइसकेको भण्डारी निकट नेताहरु बताइरहेका छन् । अर्थात् भण्डारीको पार्टी सदस्यता एकप्रकारले खारेज गरिएको छ । पार्टी नेतृत्वबाट भएको यस्तो अनपेक्षित निर्णयको जवाफ दिन आज पूर्वराष्ट्रपति भण्डारीले पत्रकार सम्मेलन गरेकी थिइन् । उक्त पत्रकार सम्मेलनमा भण्डारी एमालेका पूर्वउपाध्यक्षको हैसियतमा उपस्थित भइन् भने एमालेकै ब्यानर प्रयोग गरिएको थियो ।आफ्नो अनुभव र योग्यता सँगै उनले मदन भण्डारीको वैचारिक एवं पारिवारिक लिगेसी आफूसँग रहेको पनि लुकाएकी छैनन् । ब्यानरमा मदन भण्डारीको एकल तस्वीर र जबज राखिनुले लिगेसीमै दाबी गरिएको बुझ्न सकिन्छ । एमालेमा ओलीको तस्वीर राख्न पनि जारी भएको सन्दर्भमा त यस्तो दृश्य अझ अर्थपूर्ण हुन्छ । यद्यपि पत्रकार सम्मेलनका क्रममा भण्डारीले आफूलाई मदन भण्डारीको पत्नी भनेर चिनाइनन् । तर मदन भण्डारीले अगाडि सारेको जबजकै सैद्धान्तिक जगमै आजको एमाले निर्माण भएको बताइन् । जबजले अगाडि सारेको पार्टी निर्माण सम्बन्धी अवधारणको निष्ठापूर्वक रक्षा गर्न म देशभरका सबै एमाले पंक्तिमा आग्रह गर्दछु । मेरो यो आग्रह र संकल्प अन्तरआत्माको आवाज हो’, आफ्नो सदस्यता निष्क्रिय बनाउने निर्णयविरुद्ध आवाज उठाउनुलाई पनि जबजसँगै जोडेकी छन् । निर्णय प्रक्रियामा बृहत् छलफलको प्रक्रिया जबजकै अंग भएको तर्क सहित भण्डारीले यस्तो आह्वान गरेकी छन्।साभार : अखप












